यार्सा टिप्न प्रतिबन्ध

बझाङ । विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण बझाङ जिल्लाको हिमाली क्षेत्रमा यस पटक यार्सागुम्बा टिप्न रोक लगाइएको छ । यार्सागुम्बा पाइने स्थानीय तहहरूले संक्रमण फैलिनसक्ने भन्दै यो सिजनमा यार्सा संकलनमा रोक लगाएका हुन् ।

अहिले यार्सागुम्बा टिप्न जाने सिजन हो । बझाङका साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा यार्सागुम्बा पाइन्छ । वैशाख महिनादेखि यार्सागुम्बा टिप्नका लागि सयौँको संख्यामा मानिस त्यसतर्फ जाने गर्दछन् ।

यस वर्ष भने मानिसको भीडभाडबाट कोरोनाको संक्रमण बढ्ने भएपछि स्थानीय तहहरूले यार्सागुम्बा टिप्न रोक लगाएका हुन् । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग होस् भन्ने हेतुले यार्सा संकलनमा रोक लगाइएको हो ।

बझाङ जिल्लाका धेरैजसो मानिसको आयआर्जनको मुख्य स्रोत यार्सागुम्बा संकलन नै हो । यस अतिरिक्त स्थानीय तहले पनि शुल्क लिएर यार्सागुम्बा संकलनको अनुमति दिने गर्दछन् ।

वैशाखदेखि तीन महिनासम्म यार्सागुम्बा संकलनका लागि घर नै रित्तो बनाएर सर्वसाधारण लेकतिर जाने गर्दछन् । यो समय विद्यालयसमेत बन्द गरेर विद्यार्थी तथा अभिभावकहरू लेक जाने गर्दथे । यार्सागुम्बा बेचेर वर्षभरीको खर्च जुटाउने स्थानीयबासी भने यसपटक घर खर्च जुटाउन नै कठिन हुने भएपछि चिन्तित बनेका छन् ।