अपहरण तथा शरीर बन्धक जाहेरी अस्वीकार

काठमाडौं । थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउने तयारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोग लगायत ४ वटा कसुरमा उनी विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । नेपालको चर्चित व्यावसायिक घराना शंकर ग्रुपका संचालकसमेत रहेका अग्रवाल चैत २५ गते ६७ थान थर्मल कालोबजारीमा बिक्री गर्ने क्रममा नक्सालबाट रंगेहात पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उनीविरुद्ध चारवटा कसुरमा १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ । अग्रवालविरुद्धको अनुसन्धान सकिएको र ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ (क), दफा ३ (१), दफा ५ र मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को एउटा दफा गरी ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको हो । सार्वजनिक पदको दुरुपयोग गरी अपराध गरेको कसुरमा मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ को परिच्छेद २ को दफा १५ को उपदफा २ अनुसार पनि मुद्दा चलाउन माग गरिएको स्रोतले जनाएको छ । कीर्गिस्तानका अवैतनिक दूत भएको र सोही बापत प्राप्त कुटनीतिक नम्बरप्लेटको गाडी प्रयोग गरी कालोबजारीमा संलग्न भएका कारण उनीविरुद्ध सार्वजनिक पद दुरुपयोगमा थप सजायको माग गरिएको हो ।

मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसुर गर्ने व्यक्तिलाई कसुरमा हुने सजायको थप डेढी सजाय गरिने व्यवस्था छ, जसअनुसार अग्रवाललाई साढे चार वर्षसम्म जेल हुन सक्ने स्रोतले बतायो । प्रहरीले अनुसन्धानको सबै रिपोर्ट तयार पारेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सो रिपोर्ट अध्ययनपछि सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्नेछ ।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार चीनबाट प्रतिगोटा ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपैयाँसम्म लिएर उनले बिक्री गर्दै आएको पाइएको छ । प्रहरी स्वयंले उनीविरुद्ध स्टिङ अप्रेसन गरी थर्मल गनको मोलमोलाइ गरेको थियो । सोही क्रममा उनी ६७ थान थर्मल गन विक्रीका लागि पुग्दा प्रहरीको फन्दामा परेका थिए । उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् ।