बीरगञ्ज र झापामा नयाँ संक्रमित फेला, चारजना निको भई घर फर्किए

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ । आइतबार पर्सामा दुई र झापामा एक जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगन्जमा थप दुई जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । वीरगन्ज महानगरपालिका १६ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा कोराना संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार, काठमाडौंको टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ घुसुकपुर टोल बस्ने संक्रमित व्यक्ति जमाती धर्म प्रचारक भएको र मार्च महिनामा भारतको राजधानी नयाँदिल्लीमा भएको कार्यक्रममा सहभागी भएर आएको जनाइएको छ । उनीहरूसँगै दिल्ली गएका वीरगञ्ज–२ का ४२ वर्षीय एक पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई वीरगञ्जको सिद्धार्थ माद्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमणको पुष्टि भएपछि दुवैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

यता, आइतबार नै झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा उनमा कोभिड–१९ पोजिटिभ देखिएको हो । यससँगै झापामा संक्रमित हुनेको संख्या दुई पुगेको छ ।

यसैबीच, मन्त्रालयले नारायणी अस्पताल वीरगञ्जमा उपचाररत चार जना संक्रमित आइतबार घर फर्किएको जनाएको छ । रौतहटका १९ वर्षीय एक युवक र तीन भारतीय निको भएका हुन् । रौतहटका युवक १२औं दिनमा र अन्य तीन जना १५औं दिनको उपचारपछि घर फर्किएका हुन् । यो सँगै नेपालमा कोरोनाभाइरसको संक्रमण निको भएर घर फर्कनेको संख्या १६ पुगेको छ ।

मन्त्रालयकाअनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४१ हजार ४३६ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ९३१ परीक्षण भएका छन् । दुवै विधिबाट जम्मा ५१ हजार ३६७ वटा परीक्षण भएका छन् । हाल मुलुकभर आइसोलेसनमा ११० जना रहेको मन्त्रालयले जनाएको छ ।