धर्म, विज्ञान र कोरोना महामारी

श्रीमद् भगवत गीताको अध्याय ९ श्लोक ८ भगवान श्री कृष्ण भन्नुहुन्छ– प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः । भुतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ।

अर्थात्, यो सम्पूर्ण दृश्यमान जगत मेरो अधिनमा छ, मेरो इच्छाद्वारा स्वचालित रुपमा यो सृष्टि बारम्बार प्रकट हुन्छ र मेरो इच्छाले अन्त्यमा यसको विनाश पनि हुन्छ ।

भगवत गीतामा भनेअनुसार यो सारा संसार श्रीकृष्णमा निहीत छ । यसको शुरुदेखि अन्त्यसम्म हरेक जिम्मा श्रीकृष्णले आफैलाई स्वीकार्नु भएको छ । सबै जीवात्माहरू यो भौतिक प्रकृतिको गर्वमा अवस्थित हुन्छन् र आ–आफ्नो क्रियाकलाप गर्छन् । यस वाक्यमा भनेअनुसार भगवानको इच्छाद्वारा संसार स्वचालित हुन्छ, त्यसैले हाम्रो हातमा न त संसारको सृष्टि सम्भव छ न त विनाश नै ।

इतिहासलाई पल्टाएर हेर्ने हो भने मानवलाई नै संसारको सबैभन्दा विवेकशील र विशिष्ट प्राणी मानिन्छ । मानव आज चन्द्रमादेखि लिएर पृथ्वीको भित्री भागसम्म सबै ठाउँ पुग्न सक्षम छ । यो सफलता सबै मानवले आफ्नै अनगिन्ती प्रयासद्वारा हासिल गरेको हो । तर केवल सफल हुनुमात्र जीवनको लक्ष्य हो त ? सफल भएता पनि आज हामी जुन दौडमा छौं, यसमा जित कसको हुन्छ भनेर चिन्न कठिन छ किनभने समयले हामीलाई कतै न कतै असफल बनाएर छोडेको जस्तो आभास गराएको छ । यही असफलताको रुपमा हामीले अहिलेको कोरोना महामारीलाई लिन सक्छौं ।

अहिले संसारमा महामारीको रुपमा फैलिरहेको भाइरस जसलाई हामी कोरोना अर्थात् कोभिड–१९को नामले चिन्छौं र त्यसको संक्रमणको जुन समस्यासँग जुधिरहेको छौं, सायद त्यसको जवाफ विज्ञानले दिन सकिरहेको छैन । कोरोना संक्रमणले संसारलाई आक्रान्त तुल्याइरहेको छ । हुन त धर्म र विज्ञान धेरै कुरामा विपरित मानिन्छ । सरसर्ती हेर्दा विज्ञानका कुराको प्रमाण सजिलैसँग पाउन सकिन्छ तर धर्मको कुनै प्रमाण छैन भनिन्छ । यस्तो लाग्नु स्वाभाविक पनि हो । तर सबै अविस्कार यही प्रकृतिका बरदान हुन् ।

मानिसले आविष्कार गरेको हवाइजहाज जस्तो साधन चलाउन यहि प्रकृतिको ऊर्जा चाहिन्छ । मानिसले विज्ञानको प्रयासमा एउटा सानो जीव पनि बनाउन सक्दैन । त्यस्तै, हालको यो कोरोना महामारी विज्ञानले रोक्न सकिरहेको छैन । के विज्ञान पूर्ण छ त ? प्रश्न अनुत्तरित बनेको छ । 

कोरोना भाइरस हेर्दा त अतिनै सूक्ष्म हुन्छ तर उतिनै खतरनाक पनि । चीनको वुहानबाट जन्मेको उक्त भाइरस युरोपको इटाली हुँदै अमेरिकासहित विश्वको २१० देशमा फैलिसकेको छ । यसको गतिविधि देखेर सारा विश्व नै आश्चर्यचकित छ । मानिस मानिसको नजिक जान नसक्ने मानौं एउटा मानव बमजस्तो खतरनाक वस्तु हाम्रो माझ छ । जसरी युरेनियमको सानो कणलाई आणविक विखण्डनद्वारा भौतिकशास्त्र र रसायनशास्त्रको फ्यूजनबाट एटम बमजस्तो खतरनाक हतियार बनाउन सम्भव भयो, त्यही कुरा एउटा धुलोको कणभन्दा सानो जीवले सित्तैमा गरेर देखाइदियो । त्यसमा पनि सबै खालका मानिसको आ–आफ्नै प्रकारको विश्लेषण छ । धार्मिक हिसाबले हेर्दा पृथ्वीमाथिको दोहनले आफुलाई पहिलेको रुपमा फर्काउन पृथ्वीले गरेको एउटा लडाईको रुपमा यसलाई लिन सकिन्छ । शास्त्रीय हिसाबले कलियुगको आयु ४ लाख ३२ हजार वर्षमध्ये हामीले केवल ५००० वर्षमात्र बिताएका छौं । त्यसैले आशा गरौं हामी केही समय संघर्ष गरेर कोरोनालाई पराजित गर्दै अघि बढ्न सफल हुनेछौं । 

हुन त यदि विज्ञानका महान आविष्कारकहरु नभइदिएको भए हामी आज जहाँ छौं, त्यो सम्भव थिएन होला । अल्बर्ट आइनस्टाइनजस्ता महान वैज्ञानिकले विश्वलाई नयाँ आयाम दिए । निकोलस टेस्लाले अल्टर्नेटिङ करेन्ट नबनाएको भए सायद आज विश्वमा बिजुली नामको शब्द सम्भव हुँदैनथ्यो होला । न्यूटनको गुरुत्वाकर्षण शक्तिले संसारमा तहल्का नै मच्चाईरहेको छ । लुइस पास्टरले दिएको माइक्रोबायोलजीको सिद्धान्तले आज विभिन्न रोगको खोप बनाउनुको साथै माइक्रोबियल फर्मेंटेशनर पास्चराइजेशनले एउटा सफलता प्राप्त ग-यो जसले रोगको निवारण अनि मानवको ज्यान बचाउने मुख्य सूत्र पत्ता लगायो ।

यसैगरी विज्ञानका विभिन्न स्रष्टाहरुको यस क्षेत्रमा आफ्नै योगदान छ । तर वैज्ञानिकहरुले जे गरे पनि पृथ्वीमा रहेका बस्तुको खोजी गरेर, त्यसलाई फिल्टर गरेर सैद्धान्तिक रुपमा प्रस्तुत गरिएको हो । यसमा कुनै बाहिरी बस्तु नभएर पृथ्वीमै भएको गतिविधिलाई नियालेर हेरेको अनुभव हो । तसर्थ जे जति बस्तुहरुको हामी कुरा गर्छौं, सबै प्रकृतिमा पहिल्यैदेखि उपस्थित भएको बस्तुहरुको परिचलान मात्र हो । त्यसैले प्रकृति हामीभन्दा धेरै अगाडि छ । यसलाई न कसैले जित्न सक्छ, न त मेट्न नै । यसको हाँगाले सारा संसारलाई ढाकेको छ । त्यसकारण मानिसले कहिले पनि प्रकृतिलाई जित्न सक्दैन भन्नेकुरा वर्तमानमा हामीले भोगिरहेको महामारीबाट सिक्न सकिन्छ । 

भागवतगीता अध्याय ४ श्लोक ७ मा उल्लेख छः यदा यदा हि धर्मस्य ग्लानीभर्वती भारत । अभ्युत्थानम धर्मस्य तदात्मानं सृजाम्यहम् ।।

अर्थात्, हे भारतबंशी अर्जुन ! जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्छ, त्यस समय त्यस ठाउँमा मैले अवतार लिन्छु ।

यो बाक्यमा भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउदै भन्नुभएको थियो कि पाप बढेपछि र अधर्मको उन्नति भएपछि म अवतार लिन्छु । यो भगवान श्रीकृष्णको लिला हो कि प्रकृतिले गरेको इकोसिस्टमको सन्तुलनको प्रयास हो ? अनुत्तरित छ । तर जे भए पनि यसले हामीलाई पृथ्वीको सबै प्राणी जातिको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न दिएको एउटा ठुलो सन्देश हो ।

विज्ञानले मानवीय जीवनलाई सरल सहज र भौतिक रुपमा उन्नत बनाउन पु-याएको सहयोग असीमित छ । तर त्यति हुँदा हुँदै पनि प्रकृतिमाथिको नियन्त्रण कायम गर्ने कुरामा वैज्ञानिकहरूले  शत प्रतिशत सफलता हासिल गर्न नसकेको देखिन्छ । धार्मिक पक्षबाट हेर्दा मानिसले प्रकृतिमाथि गरेको अत्याचारको परिणाम हो र त्यसलाई पार पाउने उपायको रुपमा मानवीय महत्वकांक्षा र नकारात्मक सोचमा परिवर्तन गर्दै सबै चराचर जगतलाई आफु सरह हेर्ने दृष्टिकोणको विकास गर्नुपर्दछ भन्ने देखिन्छ । यसको ज्वलन्त उदाहरण अहिलेको कोरोना महामारी नै छ । मानिसले अरु त छाडौं, सर्प, चमेराजस्ता जंगली जनावरलाई समेत खान बाँकी राखेका छैनन् । यसले गर्दा  जैविक विविधतामा ठुलो असर परिरहेको छ । प्रकृतिद्वारा जीवमाथिको अति दोहनले आज हामी यो अवस्थामा पुग्दैछौं । प्रत्येक प्राणीको यस पृथ्वीमा आ–आफ्नै अस्तित्व छ र सबैको सन्तुलित क्रियाकलापबाटै यो संसार चलेको छ, जसलाई इकोसिस्टम भनिन्छ । यो इकोसिस्टममा एउटा पनि तत्वलाई बाहिर निकाल्न खोज्यो भने परिणाम निकै नै भयावह हुन् सक्छ ।

यसको उदाहरणको रुपमा हामीले अहिलेको कोरोना संक्रमणको घटनाक्रमबाट पनि पाइसकेका छौं । यदि समयमै प्राणी जातिको बाँच्न पाउने अधिकार निश्चित नगर्ने हो भने यसले सन्तुलित इकोसिस्टमको परिकल्पना समेत गर्न सकिदैंन । कतिपय कुरा सुरुवात गरेपछि यसको अन्त्य पाउन कठिन रहेछ भन्ने कुराको हामी अनुभव गर्न सक्छौं ।