भक्तपुरमा मासु पसल अनुगमन

भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा दत्तात्रय, च्याम्हासिंह, कमलबिनायक र लान्चाफल्चामा मासु पसल अनुगमन गरिएको छ । 

कोरोना भइरस (कोभिड १९) महामारी विश्वमा फैलिरहेको अवस्थामा नेपालमा पनि त्यसबाट बच्न लकडाउन घोषणा गरेको अवस्थामा मासु पसलेहरुले मनपरी मूल्य लिई कालोबजारी भएको, मासु महँगोमा विक्रीवितरण गरेको जनगुनासो आएपछि अनुगमन गर्दा अधिकांश मासु पसल न्युनतम मापदण्ड नपुगेको र महँगोमा बेचिएको पाइएकोले अधिकांश पसलमा तराजु जफत गरिएको संयोजक राजकृष्ण गाराले बताउनु भयो । 

अनुगमनमा सालागणेश मिट पसल नविकरण गर्नुपर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्नुपर्ने साथै डिजिटल तराजु प्रयोग गर्नुपर्ने, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्नु पर्ने, मासुको मुल्य महँगोमा विक्री वितरण गरेको र मूल्यसुचि राख्नु पर्ने सुझाब दिई तराजु थान एक जफत गरिएको जनाइएको छ ।

त्यस्तै बालकुमारी कोल्ड स्टोरमा मुल्यसुचि नभएको र मनपरि मूल्य लिने गरेको, कुखुराको मासु र रा“गोको मासु फ्रिजमा छुट्टाछुट्टै राख्नुपर्ने, मासु झिंगा नभन्किने गरी जालीले छोप्नु पर्ने सुझाव दिइ ढकतराजु नापतौल विभागमा नविकरण नभएकोले जफत गरिएको जनाइएको छ ।

त्यस्तै रत्न शाहीको रा“गोको मासु पसल दर्ता नभएको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्नुपर्ने, पसल न्युनतम मापदण्डको पूर्वाधार तयार गरी पसल व्यवस्थित गर्नुपर्ने सुझाव दिँदै नापतौल विभागमा नविकरण नभएको ढकतराजु जफत गरिएको छ ।

त्यस्तै सुमन मिट सपमा मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्नुपर्ने, मुल्यसूचि राख्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने सुझाव अनुगमन समितिले दिएको छ । महिमा मिट सपमा पसल नविकरण गर्नुपर्ने, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्नुपर्ने, मूल्यसुचि राख्नु पर्ने सुझाव दिइ नापतौल विभागमा नविकरण नभएको ढक तराजु थान एक जफत गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 

अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, सदस्यसचिव दिलिपकुमार सुवाल, नगरपालिकाका श्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा र लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका विष्णु थापा र पशु सेवा शाखा भक्तपुर,  भक्तपुर उद्योग बाणिज्य संघको सहभागी थिए ।