चालु आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको अर्थतन्त्र सबैभन्दा कमजोर।

काठमाडौं := चालु आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको अर्थतन्त्र सबैभन्दा कमजोर देखिएको छ । देशको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जिडिपी) का आधारमा मधेस सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकअनुसार अन्य प्रदेशको तुलनामा मधेसमा कृषि उत्पादन धेरै घटेको र सरकारी खर्च पनि कममात्र भएकाले आर्थिक वृद्धि र प्रतिव्यक्ति जिडिपीका आधारमा उक्त प्रदेश सबैभन्दा कमजोर देखिएको हो ।

देशको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जिडिपी) का आधारमा मधेस प्रदेश सबैभन्दा कमजोर देखिएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ६६ खर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशको २४ खर्ब २३ अर्ब(३६.७ प्रतिशत), कोशी प्रदेशको १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको नौ खर्ब ३७ अर्ब(१४.२ प्रतिशत), मधेस प्रदेशको आठ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको पाँच खर्ब ९३ अर्ब (९.० प्रतिशत), सुदूरपश्चिम प्रदेशको चार खर्ब ६४ अर्ब(७.० प्रतिशत) र कर्णाली प्रदेशको दुई खर्ब ७७ अर्ब(४.२ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ ।

आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानबमोजिम स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेश(५.४० प्रतिशत)मा र त्यसपछिको गण्डकी प्रदेश (५.०१ प्रतिशत) मा देखिन्छ भने सबैभन्दा न्यून वार्षिक वृद्धिदर मधेस प्रदेश (१.३१ प्रतिशत) हुने प्रारम्भिक अनुमान रहेको छ।

स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा बागमती र गण्डकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा बढी र बाँकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा कम हुने प्रारम्भिक अनुमान रहेको छ । औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापारले कोशी तथा मधेस प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ भने गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोस्रो स्थानमा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोस्रो स्थानमा रहेको छ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रशासनिक सहयोगी सेवा, मधेस, बागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको कृषि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षाबाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक वर्गीकरणअनुसारको कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत् तथा ग्यासको (२०.९३ प्रतिशत) रहने प्रारम्भिक अनुमान रहेकोमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर सोही क्रियाकलापको रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तीय तथा बीमा सेवाको रहने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ भने बागमती, गण्डकी, कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षाको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा र मधेस प्रदेशमा कृषिको वार्षिक वृद्धिदर ऋणत्मक रहने अनुमान छ । आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेस प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेस प्रदेशको रहने संशोधित अनुमान छ । आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन युएस डलरमा बागमती प्रदेशको २६ सय ४४, गण्डकी प्रदेशको १६ सय ५१, कोशी प्रदेशको १४ सय १०, लुम्बिनी प्रदेशको १२ सय आठ, सुदूरपश्चिम प्रदेशको ११ सय ७०, कर्णाली प्रदेशको ११ सय आठ र मधेस प्रदेशको नौ सय ३४ हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन युएस डलरमा १५ सय १३ हुने प्रारम्भिक अनुमान गरिएको छ । उक्त हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।