एजेन्सी := साउदी अरेबियाको फुटबलका ‘पोस्टर ब्वाइ’ मानिने चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले पहिलो पटक साउदी प्रो लिगको ट्रफी उचालेका छन्। अल–नासरले सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डोलाई अनुबन्ध गर्दै विश्व फुटबललाई चकित बनाएको थियो। त्यससँगै साउदीको खेलकुद परियोजनालाई विश्वमञ्चमा पुर्याउने प्रयास पनि सुरु भएको थियो।
तर ४१ वर्षीय रोनाल्डोले साउदी पुगेको साढे तीन वर्षपछि मात्रै ठूलो घरेलु उपाधि जित्न सकेका कारण धेरैलाई आश्चर्य लागेको थियो। त्यो प्रतीक्षा अन्ततः बिहीबार समाप्त भयो। अन्तिम खेलमा रोनाल्डोले दुई गोल गर्दै अल–नासरलाई दमाकमाथि ४–१ को जित दिलाए। यससँगै टोलीले कट्टर प्रतिद्वन्द्वी अल–हिलाललाई पछि पार्दै सन् २०१९ पछि पहिलो पटक लिग उपाधि जित्यो।
हालै साउदी प्रो लिगमा आफ्नो १००औँ गोल पूरा गरेका रोनाल्डोले क्लबका लागि सबै प्रतियोगितामा १२९ गोल गरिसकेका छन्। तर उनलाई अनुबन्ध गर्नुको मुख्य उद्देश्य यही उपाधि जिताउनु थियो।
देशको इतिहासकै सबैभन्दा ठूलो खेल

रोनाल्डोको आगमनसँगै साउदी फुटबलमा ठूलो परिवर्तन देखिएको छ। उनको आगमनपछि करिम बेन्जेमा, एन’गोलो कान्टे, रियाद माहरेज, साडियो माने, नेयमारलगायत स्टार खेलाडी साउदीका ‘बिग फोर’ क्लबमा पुगे। ती क्लब हुन्—रियादका अल–हिलाल र अल–नासर तथा जेद्दाहका अल–अहली र अल–इत्तिहाद।
सन् २०२३ को गर्मीयाममा यी चार क्लबलाई साउदीको सार्वजनिक लगानी कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पिआइएफ)ले नियन्त्रणमा लिएको थियो। यही कोषले न्युक्यासल युनाइटेडको पनि स्वामित्व राख्छ। यद्यपि, सन् २०२६ को अप्रिलमा अल–हिलालको ७० प्रतिशत हिस्सा किङ्डम होल्डिङ कम्पनीलाई बिक्री गरिएको थियो, जसका प्रमुख साउदी शाही परिवारका सदस्य प्रिन्स अलवालीद बिन तलाल हुन्।
यो सिजन अहिलेसम्मकै उत्कृष्ट मानिएको छ। केही समयसम्म अल–काद्सियाह पनि उपाधि दौडमा थियो। आइभान टोनीका गोल र प्रशिक्षक ब्रेन्डन रोजर्सको योजनाले टोली बलियो देखिएको थियो। अन्ततः उपाधि दौड अल–नासर र अल–हिलालमा सीमित भयो। मे १२ मा भएको दुवै टोलीबीचको खेललाई साउदी लिग इतिहासकै सबैभन्दा ठूलो खेल मानिएको थियो। आयोजकका अनुसार उक्त खेल १८० भन्दा बढी देशमा हेरिएको थियो।
खेलको अन्त्य नाटकीय रह्यो। अल–नासर १–० ले अगाडि रहँदा ९७औँ मिनेटमा गोलकिपर बेन्टोले सजिलो बल समात्न नसक्दा आत्मघाती गोल भयो र खेल १–१ को बराबरीमा टुंगियो। त्यसपछि पनि उपाधि दौड जीवित रह्यो, तर अन्तिम दिन अल–नासरले प्रभावशाली जित निकाल्दै उपाधि आफ्नो नाम गर्यो।
यो अल–नासरको ११औँ लिग उपाधि हो भने रोनाल्डोको करिअरको आठौँ घरेलु लिग उपाधि हो। उनले यसअघि इंग्ल्यान्डमा म्यानचेस्टर युनाइटेड, स्पेनमा रियल मड्रिड र इटालीमा युभेन्टसबाट लिग जितेका थिए।

विवाद र अनिश्चित भविष्य
यो सिजन विवादरहित भने रहेन।
फेब्रुअरीमा रोनाल्डोले दुई लिग खेल गुमाएका थिए। त्यसबेला पिआइएफले अल–हिलाल र अल–नासरलाई फरक व्यवहार गरेको भन्ने असन्तुष्टि रहेको चर्चा थियो। अर्कोतर्फ, केही खेलाडीले भने लिगले रोनाल्डो र अल–नासरलाई पक्षपात गरेको आरोप लगाए। अल–अहलीका टोनी र ब्राजिली विंगर गालेनोले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए।
यसको जवाफमा रोनाल्डोले भनेका थिए, “यो लिगका लागि राम्रो होइन। सबैले गुनासो गरिरहेका छन्। फुटबल युद्ध होइन, तर सबै कुरा स्वीकार्य हुँदैन। सिजनपछि म बोल्नेछु, किनकि मैले धेरै नराम्रा कुरा देखेको छु।” उनले थपे, “धेरै खेलाडीले रेफ्री, लिग र परियोजनाको आलोचना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। यो लिगको उद्देश्य होइन।”
हाल साउदीको समग्र खेलकुद परियोजनामाथि पनि प्रश्न उठ्न थालेका छन्। अप्रिलमा पिआइएफले लिभ गल्फमा चालु सिजनपछि लगानी रोक्ने घोषणा गरेको थियो। जनवरीमा साउदीमा आयोजना हुने तय भएको २०२९ शीतकालीन एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भयो।
त्यस्तै, महिला टेनिस सङ्घ (डब्लुटिए) को सिजनअन्त्य प्रतियोगिता पनि तीन वर्षे सम्झौता सकिएपछि साउदीबाट बाहिरिने चर्चा छ। फुटबलमा पनि सन् २०२३ जस्तो चर्चित स्टार खेलाडीहरूको आगमनबारे अहिले त्यति चर्चा छैन।
यद्यपि, केही ठूला अनुबन्ध अझै भइरहेका छन्। अल–काद्सियाहले इटालियन फरवार्ड मातेओ रेतेगुईलाई करिब ५७ मिलियन पाउन्डमा भित्र्याएको थियो भने अल–हिलालले डार्विन नुनेजका लागि करिब ४६ मिलियन पाउन्ड खर्चिएको थियो।
तर अहिले क्लबहरू बढी पुनर्बिक्री मूल्य भएका युवा खेलाडीमा केन्द्रित देखिन्छन्। रियाद स्रोतहरूका अनुसार मोहम्मद सलाहजस्ता अनुभवी सुपरस्टारका लागि अझै रकम उपलब्ध छ। गर्मीयाममा लिभरपुल छाड्ने तयारीमा रहेका सलाहलाई अल–इत्तिहादले अनुबन्ध गर्न चाहेको बताइएको छ, तर उचित मूल्यमा मात्रै।
रोनाल्डोको यो सफलता केहीका लागि साउदीको ठूलो खर्च नीतिको सही साबित हुन सक्छ भने केहीका लागि एक युगको अन्तिम ठूलो उत्सव पनि हुन सक्छ। अब साउदी फुटबलले यस सफलतालाई कसरी अगाडि बढाउँछ भन्ने हेर्न बाँकी छ।तर अहिलेका लागि रियादको पहेँलो समर्थक समूह र रोनाल्डोका विश्वभरका समर्थकसँग खुसी मनाउने पर्याप्त कारण छ।




















