भक्तपुर । हिँडेरै सिन्धुली जान लागेको रामप्रसाद कार्कीले आइतबार पेटभरि खाना खानुभयो । हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर हृवाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि आइतबार घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा उहाँसँगै रहनुभएका १५० बटुवा र अन्य ५० गरी २०० जनाले खाना खाएका छन् । आइतबारबाट जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाको सहयोग एवं नेतृत्वमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन गठ्ठाघरका सञ्चालक वसन्त लामा, सुनिल बज्राचार्य र मानवीय आस्था नेपालको समन्वयमा निःशुल्क खाना खुवाउने व्यवस्था गरेको हो ।
साँझ गाडीमा हालेर घर फर्काउने गरी पैदलयात्रुलाई रोकेको प्रहरीले शनिबार घर पठाउन नसकेपछि भोकै रहेका उनीहरूलाई आइतबार पहिलो दिन बिहान ११ बजे एकैसाथ खाना खुवाएको नागरिक कम्युनिटी टिचिङ अस्पतालका सञ्चालकसमेत रहनुभएका कासिछ्वाले जानकारी दिनुभयो ।
अध्यक्ष कासिछ्वाले भन्नुभयो, ‘आजदेखि १५ गतेको लकडाउनसम्म गठ्ठाघरमा दिउँसो १ बजेसम्म पैदलयात्री, सडक मानव, अस्पतालका बिरामी कुरुवादेखि भोकै बसेका यहाँ आउने जोसुकै हामी निःशुल्क खाना खुवाउँछौँ ।’
भक्तपुरमा कोही पनि भोकै नपरुन् भन्ने उद्देश्यले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको समन्वय र विभिन्न निकायको सहयोगमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । जुनसुकै ठाउँबाट भोकै आउने व्यक्तिलाई गठ्ठाघरमा भात, दाल, तरकारी र अचार खुवाउने जानकारी दिँदै कासिछ्वाले भन्नुभयो, ‘खानेकुरा नभएर कोही पनि भोकै बस्नु पर्दैन, पैदलयात्रु कोही भोकै हिँड्नु पर्दैन, हामीले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेका छौँ, यहाँ आइदिनुस् ।’
नजिकै रहेको नागरिक अस्पताल, नेपाल कोरिया नगरपालिकामैत्री अस्पताल, मध्यपुर अस्पताललगायत क्षेत्रका बिरामी कुरुवालाई पनि खाना खान आउन आहृवान गर्दै उहाँले भक्तपुर अस्पताल र अन्य अस्पतालमा पनि कुरुवा र बिरामीलाई समस्या परे खाना पु¥याउने बताउनुभयो । सडकमा बसेका, दैनिक ज्यालादारी गरी खानुपर्ने, अतिविपन्न मानिस भोकै छन् भने खाना खान आउन आहृवान गरेको छ ।
त्यसैगरी सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा भक्तपुरको जगातीमा शनिबारदेखि नै पैदलयात्रु, सडक मानव, मजदुर एवं विपन्न वर्गलाई खाना खुवाउन शुरु गरेको छ । काठमाडौंबाट पूर्व भएर पैदल जाने यात्रुलाई अरनिको राजमार्ग खण्डअन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले मानवीय आस्था नेपालको सहकार्यमा लकडाउनभरि खाना खुवाउने व्यवस्था गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
वडाध्यक्ष थापाले भन्नुभयो, ‘हिँडेर आएका पैदलयात्रुलाई प्रहरी बृत्त जगाती अगाडि सडकमा रोकेर खाना खुवाउने, दिउँसो खाजा खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौँ, अब हरेक दिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन ।’ सिपाडोल परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्यका अनुसार प्रहरीसँगको समन्वयमा थर्मलगनबाट पैदलयात्रीको तापक्रम परीक्षण गरी, स्यानिटाइजर गरी खाना खुवाउने व्यवस्था गरेको छ ।
त्यसैगरी मानवीय आस्था नेपालले मानव सेवा आश्रमसँगको समन्वयमा विगत २० दिनदेखि दैनिक सडक मानव, पार्टी, मन्दिर र गल्लीमा बस्दै आएका असहाय मानिसलाई दैनिक उनीहरू बसेकै ठाउँमा पुगेर खाना खुवाउँदै आएको छ । मानवीय आस्था नेपालको समन्वयमा जिल्ला खेलकुद विकास समितिको सहयोगमा महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र प्रहरी बृत्त थिमिलाई ज्वरो नाप्ने तीन थान थर्मलगन र ३८ थान टल्किने ज्याकेट (फ्लोर सेन्ट) सांसद महेश बस्नेतले हस्तान्तरण गर्नुभएको छ ।
त्यसैगरी भक्तपुरको पलाँसेमा कपडा बैंक स्थापना गरिने भएको छ । दाताले सहयोग गरेको लत्ताकपडा, जुत्ता, पानी गरिब असहाय र समस्या परेका पैदलयात्रुले निःशुल्क लैजाने गरी बस्नेतकै योजनाअनुसार कपडा बैंक स्थापना गर्न लागेको सूनपा वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो ।
लकडाउन शुरु भएपछि मानवीय आस्था नेपालले जिल्लाका चारवटै नगरपालिकामा गरिब, असहाय, मजदुर, अतिविपन्न परिवारका लागि जिल्लाका चारवटै नगरपालिकामा खाद्यान्न वितरण गर्दै आएको छ । पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार भक्तपुरमा कोही पनि भोकै बस्नु नपरोस् भनेर राहत वितरण र विभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने स्टेशन सञ्चालन गरेको जानकारी दिनुभयो ।



















