मौसम बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको छ ।

आइतबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ । पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चटयाङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । रातिको समयमा पनि यो क्रम जारी रहनेछ ।

त्यस्तै वैशाख ८ गते पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र अपराहृनपश्चात पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।