दक्षिण कोरिया := गैरआवासीय नेपाली संघ ( NRNA ) दक्षिण कोरियाले कोभिड-१९ कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ।
योजना अनुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ। सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ। प्रति किट्स बीस हजार कोरियाली वन (रु.दुई हजार) पर्ने भएकाले दुई हजार किट्सको लागि रु ४० लाख लाग्ने अनुमान गरिएको छ। यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन्। उनले भने ‘यतिबेला मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ। त्यसका लागि सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरूमा अनुरोध गर्दछु।’


उक्त किट्स कोभिड-१९ को संक्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ। किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ। बिहीबार दिनभर सहयोग संकलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए।
दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन्। हालसम्म यहाँ रहेका नेपाली कोरोना संक्रमण हुनबाट सुरक्षित छन्।
संघले थालेको यस् अभियानमा सुदुरपश्चिम समाज दक्षिण कोरियाले एक प्रेस बिज्ञप्ति जारी गर्दै १० लाख कोरियन वन , नेपाली रकम रु.९८ हजार सहयोग गरेको खुलाइएको छ ।
साथै कोरियामा रहेका अन्य विभिन्न समाजिक संघसंस्था र नेपालीहरुले समेत आर्थिक सहयोग गरेकोले किट्स खरिद गर्न आवश्यक पर्ने रकम लगभग पुगिसकेको जनाइएको छ ।




















