‘लकडाउन’ले भारतमा नेपालीको बिचल्ली, दिल्लीबाट डेढ महिनाको बच्चा बोकेर पैदलै नेपाल आउँदै

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्वका विभिन्न मुलुक यतिबेला ‘लकडाउन’ मा छन् । सोही क्रममा नेपाल, भारतले पनि ‘लकडाउन’ गरेका छन् । खुला सीमा तथा दुई मुलुकबीच ‘रोटी–बेटी’को सम्बन्ध भएका कारण दुवै मुलुकका नागरिक एक अर्को मुलुकमा रोजीरोटी तथा पारिवारिक सम्बन्धका क्रममा पुग्ने गरेका हुन्छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै मुलुक ‘लकडाउन’ मा गएपछि नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुने गरेको छ ।

यसै क्रममा भारतीय समाचार च्यानल ‘एबीपी न्यूज’ का अनुसार लकडाउनका क्रममा केही नेपाली नयाँ दिल्लीबाट पैदल नै नेपालतिर हिँडेका छन् । मुम्बइमा काम गर्र्दैै आएका ती नेपाली नयाँ दिल्लीमा आइपुगेपछि ‘लकडाउन’ का कारण अलपत्र परेपछि पैदल हिँडेरै भए पनि नेपाल पुग्ने अठोट लिएको उक्त समाचार च्यानलले जनाएको छ ।

एबीपी न्यूजले दीपक नाम गरेका नेपालीसँग कुरा गरेको छ । दीपकले एबीपी न्यूजसँग भनेका छन्, ‘हामी मुम्बईबाट हिँड्दा सबै ठिकै थियो, रेल चलिरहेको थियो, पुग्छौँ होला भन्ने सोचेर हिँडियो, दिल्ली आइपुग्दा रेल, बस सबै रोकियो ।’

दीपकका अनुसार उनीहरुको समूहमा डेढ महिनाको एक बच्चासहित सुत्केरी महिला पनि छन् । मुम्बईबाट दिल्ली आउनासाथ सुरुमा रानीबागस्थित एक होटलमा बसेका उनीहरुलाई होटलवालाले पनि निकालिदिएपछि अलपत्र परेका थिए ।

एबीपी न्यूज च्यानलका अनुसार उनीहरु दिल्लीबाट नेपाल जान भनेर पैदल नै हिँडेका छन् । एबीपी न्यूजले उनीहरुको समस्या उजागर गर्दै आफ्नो अनलाइन पोर्टलमा लेखेको छ, ‘हामी भारत सरकारलाई अपिल गर्दछौँ कि चाँडोभन्दा चाँडो यिनीहरुका लागि कुनै विकल्प खोजियोस्, उनीहरुलाई आफ्नो देश नेपाल सुरक्षित रुपमा फर्काइयोस्, यस्तो महामारीको अवस्थामा उनीहरु सडकमा हिँडेर आफ्नो ज्यान जोखिममा नपारुन् र अरुका लागि पनि खतरा नबनुन् ।’