कोरोना भाइरस लागेका रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु ।

एजेन्सी := बिश्व ब्यापी रुपमा माहामारी जस्तै फैलीईरहेको कोरोना भाइरसको संक्रमणका कारण रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।

बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यो तरिकाबाट अवसान हुन उहाँ लायक हुनुहुन्थेन ।’ रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्वअध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ ।

लोरेन्जोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।