सप्तरी := तत्कालिन सप्तरी जिल्लामा सिडियो समेत भएका एक जना पुर्व रक्षासचिव मार्फत राजपाका अध्यक्षमण्डलबीच अढाई करोडको घुस लेनदेन भएको खुलासा भएको छ ।
यतिबेला भाइरल भइरहेको अडियोको औपचारिक पुष्टि हुन बाँकी रहेको भएता पनि उक्त अडियोमा हाल राष्ट्रियसभा सदस्य रहेका शेखर सिंहले अढाई करोड रुपैयाँ राजपाका अध्यक्षमण्डललाई बुझाएको प्रष्ट बुझ्न सकिन्छ ।नागरिक टाईम्सले खबर छापेको छ ।
गत माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन अढाई करोड रुपैयाँ घुस बुझाएको खुलासा भएको हो । अडियो टेपमा भएको कुराकानीमा प्रदेश नं २ बाट राष्ट्रिय जनता पार्टीं (राजपा) का उम्मेदवार बनेका शेखर कुमार सिंहले अढाई करोड रुपैयाँ बुझाएर सांसद बनेको खुलासा भएको हो।
अडियो टेपमा सुरजीत सिंह र ज्योती झा बीचकोे संवाद रहेको छ । राष्ट्रियसभा सदस्य बन्न शेखर कुमार सिंहले पार्टीलाई पैसा बुझाएको कुरा सुरजीत सिंह र झाले गरेका छन् ।
अढाई करोड बुझाएर राष्ट्रिय सभा सदस्य बनेका शेखर कुमार सिंह र सुरजीत सिंहको पारिवारिक विरादरी एउटै र उनीहरुबीच हाल तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएको छ ।

उनीहरुबीच कुराकानी भइरहँदा पूर्व रक्षा सचिव तिलकराम शर्मा पनि मिसिएका छन् । उनीहरुको कुराकानीको आधारमा पूर्व रक्षा सचिव शर्माले शेखर कुमार सिंहलाई सांसदको उम्मेदवार बन्न अढाई करोड रुपैयाँको व्यवस्था गरेको उल्लेख छ। उक्त कुरा स्वयं शर्माले नै अडियो वार्तामा खुलेर बताएका छन् । ज्योती झा भने पूर्व सचिव तिलकराम शर्माको रकम उठाइदिनका निम्ती अग्रसर र मध्यस्तकर्ताको रुपमा देखिएका छन् । पूर्व सचिव शर्मा मार्फत आफन्तको पैसा फसेकोले आफू अग्रसर हुनुपरेको उनको भनाई छ।
यसअघि पनि राजपा पैसा लेनदेन गरेर राष्ट्रियसभा सदस्य बनाएको आरोप लागिसकेको छ । उक्त अडियोले उनीहरुमाथिको आरोपलाई झन पुष्टि गरेको छ । पार्टीले राष्ट्रियसभा उम्मेद्वार तय गर्दै गर्दा टिकट बेचेको चौतर्फी रुपमा चचर्का चलेको थियो । अडियो टेप प्रकरणमा अनिलकुमार झा, राजकिशोर यादव, शरदसिंह भण्डारी र राजेन्द्र महतोलाई सम्बोधन गरेर कुराकानी गरिएको छ । स्रोतका अनुसार पूर्व सचिव शर्मा अर्का राजपा नेता शरदसिंह भण्डारीका निकटतम हुन् । राजपाका शेखर कुमार सिंहले ५५०२ मत ल्याएर २ नं प्रदेशवाट राष्ट्रिय सभा सदस्यमा विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला पजियारले ४५१२ मत ल्याएका थिए ।
यता राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले त्यस्तो कुने लेनदेन नभएको दावी गरेका छन् । ‘शेखर सिंह कुनै आगन्तुक नेता होइन, उहाँ पार्टीकै उपाध्यक्ष हो, उहाँले किन पैसा बुझाउनु पर्थियो र ?’ भण्डारीले नागरिक टाइम्ससँग भने पार्टीगत प्रणली अन्तरगत नै सिंहले पैसा पाएका हुन् यसमा कुने लेनदेन छैन’ । तर पुर्व रक्षासचिव शर्मा, शेखर सिंह भने नागरिक टाइम्सको सम्पर्कमा आउन चाहेनन् । प्रदेश नम्बर २ मा नेकपा र राजपाको गठबन्धन रहेको थियो ।
तलको लिङ्कमा क्लिक गरेर पूरा अडियो सुन्नुहोस्:



















