देशभर २३५ वटा आइसियु बेड थप्ने तयारी

काठमाडौं । सरकारले विभिन्न मुलुकमा महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणलाई मुलुकभित्र प्रवेश हुन नदिने गरी आवश्यक तयारी गरेको भन्दै नागरिकलाई संयमित हुन आग्रह गरेको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा कोरोना भाइरस संक्रमणको जोखिमबाट मुलुकलाई जोगाउनका लागि सरकारबाट भइरहेका प्रयासबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भयभित र आतंकित नबन्न सबैलाई आग्रह गरे । 

नेपालमा अहिलेसम्म एकजना पनि कोरोना भाइरसबाट संक्रमित बिरामी फेला नपरेको भन्दै उनले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको स्पष्ट पारे । स्वास्थ्यमन्त्री ढकालले नेपालमा अहिलेसम्म ४६४ जनाको परीक्षण भएको र परीक्षण गरिएका सबैको परीक्षण नतिजा ‘नेगेटिभ’ आएको बताए । २०२० जनवरी ९ मा नेपाल आएका विद्यार्थीले चार दिनपछि स्वास्थ्य परीक्षण गराउँदा ‘पोजेटिभ’ देखिए पनि १० दिन लामो अस्पताल बसाइँपछि पुनः गरिएको परीक्षणमा नतिजा ‘नेगेटिभ’ देखिएको ढकालको भनाइ थियो । 

उनले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइएको र संक्रमणबाट बच्न एक–अर्कामा हात मिलाउने, अंगालो हाल्नेभन्दा पनि निश्चित दूरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुनेलगायत काम गर्न सर्वसाधारणलाई अपिल गरिएको जानकारी दिए । उनका अनुसार सरकारले सम्भावित जोखिमलाई मध्यनजर गरी देशभर २३५ वटा आइसियु बेड थप्ने तयारी गरेको छ । 

सरकारले उपत्यकाभित्र १२० र उपत्यका बाहिर ११५ वटा गरेर २३५ वटा आइसियुको व्यवस्था तत्काल मिलाउने गरी काममा गरिरहेको उनको भनाइ छ । हाल काठमाडौंमा १७० बेडको आइसियु सञ्चालनमा छन् । ढकालले १५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरे पनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रित भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरी आवश्यक व्यवस्था मिलाउने, आवश्यक औषधि र औजारको जोहो गर्ने तयारीमा सरकार लागेको जानकारी दिए । 

उनले प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको, अस्पतालमा काम गर्ने जनशक्ति र सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय–आतंकलाई हटाउनका लागि सरकारका तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको पनि बताए । 

चीनबाहेकका मुलुकमा कोरोना संक्रमण फैलिँदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन सरकारले स्थलनाकामा हेल्थ डेस्क स्थापना गर्नुका साथै हवाई नाका हुँदै आउने तेस्रो मुलुकका नागरिक र नेपाली नागरिकलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको ढकालले बताए । 

विदेशबाट अत्यावश्यक कामले नेपाल आउनुपर्दा एक साताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने र नेपालीहरूको हकमा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको पनि उनले बताए । 

‘प्रत्येक दिन ज्वरो नाप्ने, त्यसका मुख्य गरी ३ वटा इण्डिकेटर छन् । सुख्खा खोकी हुने, ज्वरो आउने भयो भने हामी अस्पतालमा चेक गर्छौं । चेक गर्दा त्यसको रिपोर्ट पोजेटिभ भो भने राज्यले सम्पूर्ण उपचारको जिम्मा लिन्छ,’ स्वास्थ्यमन्त्री ढकालले भने, ‘यदि त्यो भएन नेगेटिभ रिजल्ट आयो भने १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेर सबैले राष्ट्रको अप्ठ्यारोमा सहयोग गर्ने विश्वासका साथ यो नीतिलाई अगाडि बढाएका छौं ।’

स्वास्थ्यमन्त्री ढकालले संक्रमणबाट बच्न कूटनीतिक सम्बन्धभन्दा बाहेकका भिसाहरू आगामी वैशाख १८ सम्मका लागि स्थगित गरिएको, अन्तर्राष्ट्रिय क्षेत्रमा पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाइए पनि नयाँ र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए । उनले हाल नेपालका १२९ सीमा नाकामध्ये ४३ नाकामा हेल्थ डेस्क स्थापना गरिएको, छिमेकी राष्ट्रसँग जोडिएका १२८ वटा स्थानीय तहलाई २१ बुँदे निर्देशन जारी गरी आवश्यक सावधानी अपनाउन भनिएको पनि बताए ।

उनका अनुसार कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न हुने र त्यसपछि स्वतः १ महिना विद्यालय बन्द रहने भएकाले कोरोना महामारीको २÷४ दिनको स्थिति हेरेर एसइई परीक्षाको तालिकाबारे निर्णय गर्ने सरकारको तयारी छ । सरकारले अन्तर्राष्ट्रिय फोरमहरूमा भाग नलिने, स्वदेशमै पनि कार्यक्रम नगर्ने निर्णय गर्दै संक्रमणबाट जोगिन अत्यावश्यकबाहेक भोजभतेर नगर्न आमसमुदायलाई आहृवान गरिएको मन्त्री ढकालले बताए । 

उनले राष्ट्रियसभामा उमेर समूहअनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको अनुपातबारे पनि जानकारी गराए । कोरोना संक्रमण भएकामध्ये ९२ प्रतिशत सामान्य र ८ प्रतिशत बिरामी जोखिम अवस्थामा रहेको देखिएको उनले उल्लेख गरे । मन्त्री ढकालका अनुसार ८० वर्षभन्दा माथिका व्यक्तिको मृत्यु दर १४.८ प्रतिशत, ७० देखि ७९ उमेर समूहमा मृत्यु दर ८ प्रतिशत, ६० देखि ६९ उमेर समूहकामा ३.६ प्रतिशत रहेको पनि बताए । यस्तै, ५० देखि ५९ वर्षसम्मका मानिसमा १.३ प्रतिशत, ४० देखि ४९ सम्म ०.४ प्रतिशत, १० देखि ३९ उमेर समूहमा ०.२ प्रतिशत मृत्युको अनुपात रहेको र जन्मेदेखि ९ वर्ष उमेर समूहमा कोरोनाको संक्रमण अपवादका रूपमा देखिएको उनले जनाए ।