भारतले रोकेपछि बंगलादेशबाट औषधि

काठमाडौं । भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि बंगलादेशबाट आयात गर्ने तयारी भएको छ । नेपाल औषधि व्यवसायी संघले बंगलादेशबाट औषधि आयातको तयारी सुरु गरेको हो । 

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले नेपालमा औषधि अभाव हुन नदिन बंगलादेशसँग २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भइसकेको जानकारी दिए । नेपाल चेम्बर अफ कमर्शद्वारा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार बंलादेशबाट भारतले प्रतिबन्ध लगाएका २६ प्रकारकै औषधिहरू नै आयात गर्न सकिन्छ । भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन बी कप्लेक्ससहित अन्य २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसैबीच नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न सुरु गर्ने भएको छ । चेम्बरले दैनिक २० हजार माक्स उत्पादन गर्ने जनाएको छ । बजारमा उपभोक्ताको मागलाई मध्यनजर गर्दै सुपथ मूल्य ७ रुपैयाँमा माक्स बिक्री गरिने पनि चेम्बरले जनाएको छ । 

विश्वभर कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको त्रास बढेपछि मास्कलगायत स्वास्थ्य सामग्री र अरू अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा मास्कको अभाव देखिएकोले सामाजिक उत्तरदायित्व निर्वाह गर्न चेम्बरले मास्क उत्पादन गरी सुलभ मूल्यमा बिक्री सुरु गर्ने निर्णय गरेको बताए । 

चेम्बरले कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न थर्ममिटर गन, मास्क, प्राइम किट प्रिमियम सेट (पिपिई सेट), स्प्रिट, फूल गाउनलगायत सामग्रीहरू त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालयको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तण गरेको छ । सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठ, त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय गौचरणका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्ण, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. राजेशकुमार साहलगायतको उपस्थिति थियो । 

कोरोनाबाट उत्पन्न समस्या समाधानका लागि चेम्बर चेम्बर उपाध्यक्ष दीपक मलहोत्राको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिमा चेम्बरका कार्य समिति सदस्यमा मृगेन्द्रमेहेर श्रेष्ठ, नवराज ढकाल, दीपक श्रेष्ठ, दीपक कुँवर, देवेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्र शारदा, सञ्जय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा, ज्योति प्रकाश पाण्डे र आनन्दकुमार अग्रवाल बगारीयलाई पनि समावेश गरिएको छ ।