‘समयले गायिका बनायो’

काठमाडौं । नेपाली परिवेशमा अझै पनि संगीत मेरो उद्देश्य भनेर अघि बढ्ने विद्यार्थी कमैछन् । स्कुले जीवनको उद्देश्य डाक्टर, पाइलट भए पनि समयले कहाँ पु¥याउँछ थाहा हुँदैन । जीवनको लक्ष्य एकातिर आफ्नो जीवन एकातिर भएको पाउँछौं । विशेषगरी विपन्न परिवारमा ठूला लक्ष्य सपनामा मात्र सीमित हुन्छन् ।

संगीत क्षेत्रलाई पनि कतिले सानैदेखि रहरको रूपमा लिन्छन्, कतिले भविष्यको उद्देश्य । यसैबीच अहिलेकी लोकप्रिय गायिका भीमु गुरुङ सानैदेखि गीतसंगीतमा रुचि राख्ने गर्थिन् । विपन्न परिवारमा जन्मिएकी भीमुको गायिका बन्ने उद्देश्य भए पनि उनलाई आफ्नो उद्देश्य पूरा होला भन्ने आशा कमै थियो । आफूभित्र जोश जागर, कला भए पनि आर्थिक पाटो उत्तिकै महŒव राख्ने भएकाले उनी आफ्नो उद्देश्यतिर विस्तारै लम्किएकी थिइन् । विस २०४८ सालमा स्याङ्जा वालिङ नगरपालिका–७ केवरे भञ्ज्याङमा जन्मिएकी भीमु उच्च शिक्षा र काम खोज्न पहिलोपटक २०६४ सालमा काठमाडौं प्रवेश गरेको बताउँछिन् ।

‘काठमाडौं प्रवेश गर्नुको उद्देश्य उच्चशिक्षा पढ्नु र आफ्नो सपना पूरा गर्नु थियो । गायिका बन्नु थियो, तर मेरो लागि काठमाडौं पूर्णरूपमा अपरिचित थियो ।’ भीमुले पुराना दिन सम्झिइन् । ‘एक त केटी मान्छे भएपछि अझ बढी समस्या त थियो नै, ती समस्यालाई पनि झेल्दै अगाडि बढेकी थिएँ ।’ उनले केही समयपछि ठमेलस्थितको ‘लेकबेंशी दोहारी साँँझ’ मा काम गर्न थालेको बताइन् ।

१६ वर्षको उमेरबाट दोहोरी साँझमा गीत गाउन पाएकाले गायनमा अभ्यास प्रयाप्त भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अहिले यो अवस्थामा आएको त्यो समयमा प्रयाप्त अभ्यासका कारणले पनि हो ।’ भीमुले विस्तारै ‘नवदुर्गा दोहारी साँँझ, पोखरा दोहारी साँँझ, चौतारी दोहारी साँँझ, दरबार दोहारी साँँझ’ लगायतमा काम गर्ने मौका पाइन् । मध्यरातसम्म दोहोरी साँझमा माइकमा रमाउने बानी परेपछि क्याम्पस जाने समय निन्द्रामा बित्न थाल्यो । उनले आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन् । पढाइ रोकियो तर जागिर रोकिएन ।

सानैदेखि आफ्नो लक्ष्यमा अडिक रहेर अगाडि बढेकी भीमुलाई समयले २०७१ सालमा आएर गायिका बनायो । उनको पहिलो एल्वम ‘टिपउँ फूल ट्याप्प’ हो । त्यसपछि उनलाई गीत गाउनका लागी अफर आउन थाले । उनले ‘टिपउँ फूल ट्यापै’ पछि ‘भेट भो रोधी घरमा, सालैजो, अमिलो रसैले, लाहुरेको छोरीले, तीज’ लगायत एल्बम निकालेकी छन् । उनका यी सबै गीत दर्शक तथा श्रोता सामु लोकप्रिय भए । फलस्वरूप उनलाई नेपाली लोक सांगीतिक क्षेत्रमा पछि फर्कन परेन । भीमु गीतहरूमा मात्र सीमित रहन सकिनन् । उनको स्वरमा धेरै नेपाली संस्कृति जगेर्ना गर्ने गीत गाएकी छन् ।

उनले ‘हेसानु माया कौडा, रोधी घर सालैजो, ठूल ढुंगा कौडा, जुल्फी कपाल दोहोरी, जुनसरी माया कौडा, मादालस तालैमा दोहोरी, कस्की छोरी दोहोरी, बटौली शहर कौडा, तरुनीको जालै दोहोरी, बग्लुङ, तनहुँ, स्याङ्जा पञ्चेबाजा, तल्लो ग्याझा गाउँ रमाइँलो कौडा, बन्देउ मेरै दोहोरी’ लगायत दर्जनांै गीतमा स्वर दिइकी छन् । भीमुकै स्वरमा आफ्नो एल्बमका गीतहरू र स्वरमात्र दिएका गीतहरू करिब दुई सयको हाराहारीमा छन् ।

उनले केही गीतहरूबाट अवार्डसमेत हात पार्न सफल भएकी छन् । उनले गत बर्ष ‘सगरमाथा म्युजिक अवार्ड–२०७५’ को अवार्ड चुम्न सफल भएकी थिइन् । ‘लाहुरेको छोरी’ बोलको गीतबाट ‘सगरमाथा म्युजिक अवार्ड’ मा उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड जित्न सफल भएकी हुन् । उनले ‘दोस्रो मनासलु म्युजिक अवार्ड–०७५’ पनि ‘लाहुरेको छोरी’ बोलको गीतबाटै उत्कृष्ट मौलीक गीत गायिका बनिन् । 

‘लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका सम्मवन्नय समिति’ मा भीमु सुन्धारा समितिकी सहसचिव हुन् । त्यस्तै, भीमु गुरुङ ‘स्याङ्जा स्रष्टा सदन’ मा कोषाध्यक्ष, ‘राष्ट्रिय तमु कलाकार संघ’ मा सदस्य, ‘सयपत्री कलाकार संघ’ मा पूर्वकोषाध्यक्ष, ‘आँधिखोला समाज’ मा आजीवन सदस्यलगायत दर्जनांै संघसंस्थामा आबद्ध रहेकी छन् ।

‘यो गीतसंगीत एक नशाजस्तै हो । छोड्न गाह्रोपर्छ । दर्शक तथा श्रोतामाझ भोलिका दिनमा अझ राम्रा गीतसंगीत प्रस्तुत गर्ने अठोट गर्छु’, भीमुले भनिन् । उनी नेपालका अधिकांश जिल्ला र देशबाहिर दर्जनबढी देशमा प्रस्तुति दिइसकेकी छिन् । अझै धेरै गर्न बाँकी रहेको र धोको नपुगेको उनी बताउँछिन् ।