तामाकोसीको ठाडो सुरुङ जडान, असारभित्र उत्पादन सुरु हुने दाबी

काठमाडौं । माथिल्लो तामाकोसीको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान कार्य सम्पन्न भएको छ । अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमशः १४७ र १७१ मिटर पाइप जडान गर्न बाँकी रहेको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको आयोजनाले जनाएको छ । 

माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुईवटा पाइप जडान गर्न क्रमशः ७ र ५ दिन लागेकोले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्र पाइप जडान भइसक्ने आयोजनाले जनाएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङकोबीचमा रहेको तेर्सो भागमा पाइप जडान सुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी हाइड्रोपावरका अध्यक्ष कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्तरूपमा निर्माण सम्पन्न हुने कार्यतालिकाबारे छलफल गरेका छन् । ठेकेदार कम्पनीले तालिकाअनुसार नै काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । पहिलो युनिटबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुनेछ । उनले भने, ‘निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतको गम्भीर चासो छ, त्यसैले जुनसुकै अवस्थामा पनि चालु आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले प्रतिबद्धताअनुसारको समयतालिकामा रहेर काम गर्नुहोला, आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न हामी सधैँ तयार छौँ ।’ उनले लट २ को ठकेदारले पनि विगतमाभन्दा काममा केही सुधार गरेको देखिएको बताए । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो मेकानिकलको ठेकदार अष्ट्रियन कम्पनी एण्ड्रिज हाइड्रोलाई दिइएको छ । आयोजना, टेक्सम्याको र एण्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्सम्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गरेको प्राधिकरणले जनाएको छ । केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरे, कार्यकारी निर्देशक घिसिङ, आयोजना प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कलकत्तास्थित टेक्सम्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटी निर्माणमा तीव्रता दिन आग्रह गरेको थियो ।

श्रेष्ठका अनुसार सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत्गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा रहेका छन् । प्रसारण लाइनको १२७ वटा टावर निर्माण र ४७ किलोमिटर टावर टाँग्ने कार्य सम्पन्न भएको छ । 

रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सबस्टेसनको सिभिलतर्फको काम अन्तिम चरणमा पुगेको छ । उपकरण जडान गरी चार महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ । विनाशकारी भूकम्प र बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्य सम्पादनलगायत कारण निर्माण ढिलाइ भएको थियो ।