पेनाङ (मलेसिया):= अन्तर्राष्ट्रिय श्रम संगठन International Labour Organization (ILO) नेपालको सहयोगमा सञ्चालित MiRiDeW परियोजनाअन्तर्गत PNCC मलेसिया र North South Initiative (NSI) को आयोजनामा पेनाङका विभिन्न स्थानमा श्रम नवीकरण तथा घरफिर्तीसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
९ अगस्ट २०२६, आइतबार आयोजित कार्यक्रममा Online Labour Permit Facilitation अर्थात् श्रमसम्बन्धी कागजात तथा अनुमति नवीकरण प्रक्रिया र Migrant Repatriation Programme अर्थात् आप्रवासी श्रमिकलाई सहज रूपमा स्वदेश फर्काउने प्रक्रियाबारे सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम PNCC का Outreach Officer राजु तामाङले सञ्चालन गर्नुभएको थियो भने सुरेन्द्र महतो र राम भरोस महतोले कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण गर्नुभएको थियो। पेनाङका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा ७० जनाभन्दा बढी श्रमिक सहभागी भएका थिए।
कार्यक्रममा मलेसियामा वैधानिक तथा अवैधानिक रूपमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी कागजात नवीकरणको आवश्यकता, प्रक्रिया तथा त्यसबाट प्राप्त हुने सुविधाबारे जानकारी दिइएको थियो। साथै, सामाजिक सुरक्षा कोष (SSF) लगायत श्रमिकको सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा समेत सचेतना प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी, वैधानिक हैसियत गुमाएका वा अवैधानिक रूपमा मलेसियामा बसोबास तथा काम गरिरहेका श्रमिकहरूले कानुनी प्रक्रियामार्फत सहज र सुरक्षित रूपमा नेपाल फर्किन सक्ने Migrant Repatriation Programme सम्बन्धी आवश्यक जानकारीसमेत कार्यक्रममा दिइएको थियो।
मलेसियामा रहेका नेपाली श्रमिकलाई श्रम अधिकार, कानुनी प्रक्रिया, सामाजिक सुरक्षा तथा स्वदेश फिर्तीका विकल्पबारे प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले नेपाली समुदायमा आवश्यक सूचना तथा सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।




















