अमेरिकन आइडलमा नेपाली दिवेश

काठमाडौं । गायक रियालिटी सो अमेरिकन आइडलमा काठमाडौंका दिवेश पोखरेल छनोट भएका छन् । अमेरिकन आइडलको अडिसनबाट उनी अर्को राउण्डका लागि छनोट भएका हुन् ।

स्टेजमा अर्थर गनका नामले चिनिने दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । नमस्ते भन्दै छिरेका दिवेशलाई जजका रुपमा बसेकी केटी पेरीले २ हात जोड्दै नमस्ते फर्काइन् । उनले दिवेशलाई ‘बेस्ट’ भनेर सम्बोधन गरिन् ।

केटी पेरीले उनको प्रस्तुतिपछि ट्वीट गर्दै लेखेकी छन्, ‘तिमी बेस्ट हौँ दिवेश । त्यो नै अमेरिकन सपना हो र तिमी अमेरिकन आइडलमा नमस्ते गर्न सक्छौ । ममा रहेको प्रकाशले तिमीमा प्रकाश देखिरहेको छ ।’ दिवेशले कार्यक्रमको सुरुमा आफ्नो नामको अर्थ ‘लाइट’ (प्रकाश) भनेर अथ्र्याएका थिए ।

अमेरिकन आइडलका अर्का जज लुका ब्रायनले कार्यक्रमपछि ट्वीट गर्दै लेखेका छन्, ‘अझै त्यो बच्चाले उडाइरहेको छ ।’

अर्का जज लियोनल रिचीले भनेका छन्, ‘हामी तिम्रो जादुलाई बाहिर ल्याउन पाउँदा उत्साहित छौं । अर्थर गउन तिमी एउटा कथा हौँ जो हामीले बताउनुपर्नेछ । हलिउडमा तिमीसँग भेटौँला ।’ उनले स्टेजमा गएर दिवेशलाई अँगालोसमेत मारे ।