आस्था प्रहरी हिरासतमा

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ । दुव्र्यवहारको मुद्दामा आस्थालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार अनुसन्धान चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले सुरक्षा जाँचका क्रममा आस्थाले दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।  गायिका राउत सामबार बिहान महानगरीय प्रहरी कार्यालयमा आफँै उपस्थित भएकी थिइन् । 

‘ममाथि दुव्यर्वहार भएको हो । मैले पनि बोल्न नहुने केही शब्द बोलँे त्यसका लागि माफी मागिसकेकी छु । कसैले पनि यस्तो उस्तो भनेर गाली नगरिदनुहोला । यसलाई एउटा पाठको रूपमा लिनुपर्छ ।’ आस्थाले सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भनिन् । 

उनले आफू कानुनले जे भन्छ त्यो गर्न तयार रहेको बताइन् । आस्थाले कानुन सिरोपर गर्दै आफैँ प्रहरीसामु आई अनुसन्धानमा सजिलो बनाइदिएको बताइन् । उनले भनिन्, ‘सिक्किमको आइतबारको कार्यक्रम छाडेर आएकी हुँ । लगातार कार्यक्रम भएकै कारण छिटो आउन नसकेकी हुँ ।’

यही माघ १ गते काठमाडौंबाट भद्रपुर जाने क्रममा विमानस्थल सुरक्षा जाँचमा आस्थाले आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै फेसबुकमा बोलेकी थिइन् । उनले प्रहरीलाई सामूहिक रूपमा आरोपित गरेकी थिइन् । प्रहरीबाटै सार्वजनिक भएको सुरक्षा जाँचको सिसिटिभी दृश्यमा आस्था र प्रहरीबीच रिसारिस भएको देखिन्छ ।