मापसे जाँचका ८ वर्ष : सवा ३ लाख चालक कारबाहीमा

काठमाडौं । आठ वर्षअघि २०६८ मंसिरमा ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउने चालकविरुद्धको कारबाही थाल्दा फाट्टफुट्ट महिला चालक कारबाहीमा पर्थे । अभियान सुरु भएको पहिलो वर्ष मंसिरदेखि असार मसान्तसम्ममा १७८ जना महिला मापसे कारबाहीमा परे । सोही अवधिमा कारबाहीमा पर्ने पुरुषको संख्या भने ३९ हजार ४८० थियो । पुरुषको तुलनामा मापसे गरेर सवारी चलाउने महिलाको संख्या नगण्य जस्तै देखिए पनि यो प्रहरीको अनुमानभन्दा धेरै थियो । सुरुका दिनमा त महिला मापसे कारबाहीमा परेको देख्दा ट्राफिक प्रहरी नै छक्क पर्थे । ट्राफिक प्रहरीले बेला–बेलामा चलाउने अभियानमध्ये सबैभन्दा प्रभावकारी भएको र निरन्तरता पाएको छ मापसे जाँचले ।

रात्रिकालीन व्यवसायी तथा मदिरा व्यवसायीको विरोधबीच यो अभियानले निरन्तरता पाइरहेको छ । मुख सुँघेर जाँच थालेको प्रहरीले केही पछि ब्रेथलाइजरको प्रयोग गर्न थालेको थियो । 

प्रहरीले मापसे जाँचसँगै चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । मापसे कारबाहीमा पर्नेको संख्या भने घट्नुको साटो बढ्दो क्रममै छ । चाखलाग्दो के छ भने कारबाहीमा पर्ने पुरुषको संख्या उकालो लागिरहँदा महिलाको संख्या भने घटबढ छ । वर्ष ०६९÷७० मा ५१ हजार ९९३ पुरुष चालक मापसे कारबाहीमा पर्दा महिलाको संख्या २८७ थियो । वर्ष ०७०÷७१ मा ५४ हजार १६० पुरुष र ३७५ महिला कारबाहीमा परे । त्यसैगरी वर्ष ०७१÷७२ मा ३५ हजार ७५६ पुरुष र ३०९ महिला, ०७२÷७३ मा २८ हजार ९८८ पुरुष र २३४ महिला, ०७३÷७४ मा २८ हजार ७९९ पुरुष र ९७ महिला, ०७४÷७५ मा ३२ हजार २३४ पुरुष र ५८ महिला तथा वर्ष ०७५÷७६ मा ३१ हजार ९८७ पुरुष र २७० महिला मापसे कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ । चालु आवको पुससम्म १९ हजार २८४ पुरुष चालक कारबाहीमा परेका छन् । महिलाको संख्या भने २१२ मात्र छ । मापसे परीक्षणको आठ वर्षमा ३ लाख २२ हजार २८१ पुरुष र २ हजार ३१ महिला कारबाहीमा परेका छन् ।

प्रहरीका अनुसार मापसे कारबाहीमा पर्ने महिलामध्ये अधिकांश युवा छन् । यसले नयाँ पुस्ताका महिलाहरू पुरुषसरह समाजमा खुल्न थालेको बुझाइ प्रहरीको छ ।  ‘मापसे गरेर सवारी चलाउने पुरुषको तुलनामा महिलाको संख्या नगण्य हो तर मदिरा संस्कृतिले महिलालाई पनि गाँज्दैछ भन्ने संकेत चाहिँ यसले गर्छ,’ महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ  भन्छन्, ‘रेष्टुरेन्ट, डिस्कोमा जाने र मापसे गर्ने संस्कार बढ्दो क्रममा छ ।’

कतिपय महिलाले भने जाँचबाट उम्किन सकिन्छ भन्ने विश्वासका साथ मापसे गरेर सवारी चलाउने गरेको अनुभव प्रहरीको छ । ‘महिलाहरू अलि बढी गलफत्ती गर्छन्, लाइसेन्समा प्वाल नपारीदिन आग्रह गर्छन्,’ एक ट्राफिक हवलदारले अनुभव सुनाए, ‘तर, हामी कसैलाई छाड्दैनौं । महिला वा पुरुष, मापसेको मामलामा हामी निर्मम छौं ।’

मापसे गरेर सवारी हाँक्ने महिलाको सुरक्षाको चिन्ता पनि काठमाडौंका ट्राफिकलाई हुन्छ । ‘मापसे गरेको थाहा पाएपछि सवारी चलाउन दिने कुरै भएन,’ प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन्, ‘उनीहरूलाई सुरक्षित घर पु¥याउने भन्ने अर्को चिन्ता हुन्छ ।’ 

मापसे गरेर सवारी हाँक्नेहरू सबैभन्दा धेरै भेटिने दरबारमार्गमा हो । दरबारमार्ग क्षेत्रमा पब, क्लब, डिस्कोथेक तथा राति अबेरसम्म खुल्ने रेष्टुरेन्ट धेरै भएकाले सोही क्षेत्रमा मापसेमा कारबाहीमा धेरै पर्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राति हुने अधिकांश सवारी दुर्घटना मापसेका कारणले हुने गर्छ । मापसे जाँचले सवारी दुर्घटनामा निकै कमी आएको प्रहरीको दाबी छ ।

मापसेमा कडाइपछि राजधानीका अस्पतालमा सवारी दुर्घटनाबाट आउने घाइतेको संख्या ८५ प्रतिशतले कम भएको अस्पतालको तथ्यांकले देखाएको श्रेष्ठले जानकारी दिए । ट्राफिक प्रहरी महाशाखाले मापसे कारबाहीमा पर्ने सवारी चालकको लाइसेन्समा प्वाल पार्ने र एक हजार रुपैयाँ जरिवाना तिराएर एक घण्टा ट्राफिक सचेतना कक्षा दिने गर्छ ।