होमनाथ असापकोटा ,,
रत्ननगर:= रत्ननगर–८, बाघमाराका भुखलाल महतो ६८ वर्षका भए । २०४६ साल पहिले उनको डेढ बिगाहा जग्गा थियो । खोलाको नजिक झाडी फाँडेर उनले डेढ बिगाहा जग्गा जोडे । तर, गाउँकै सोझा महतोले धेरै समय त्यो जग्गा उपभोग गर्न पाएनन् । उनले झाडी फाँडेर आर्जेको जग्गा गाउँका टाठाबाठाले हड्पे ।
४६ सालसम्म आइपुग्दा उनको साथमा जम्मा दुई कठ्ठा जग्गा रह्यो । ‘त्यो बेला धेरै दुःख गरेर जग्गा जोडेँ’, उनले भने, ‘अहिले मसँग केही छैन ।’ पर्यटकीय नगरी सौराहानजिक रहेको बाघमारामा डेढ बिगाहा जग्गा चानचुने कुरा होइन ।
महतोसँग जग्गा हड्पेर टाठाबाठाले नम्बरी बनाए, तर महतोले अन्तिममा बाँकी रहेको दुई कठ्ठा जग्गा पनि नम्बरी बनाउन सकेनन् न त उनलाई सरकारले लालपुर्जा नै दियो । महतोको अहिले ऐलानी जग्गामात्रै छ, घर छैन । घर नभएका महतोले साहूको जग्गा कुरेरै बसे । ‘साहूले बनाइदिएको झुपडीमा बस्दै आएको छु’, उनले भने, ‘आफूसँग घर बनाउने पैसा छैन ।’
अर्काको जग्गा कुरेरै महतोको जिन्दगी बित्यो । २०५३ सालमा जेठो छोरा बिते । महतोकी श्रीमतीले पनि पूरा जीवन साथ दिन सकिनन् । छोरा बितेको वियोग सेलाउन नपाउँदै ६६ सालमा श्रीमतीको पनि मृत्यु भयो । जेठो छोरा बितेको एक वर्षमै श्रीमतीले कान्छो छोरा जन्माइन् । कान्छो छोरा पनि अपाङ्ग भएको जन्मियो।
एकातिर कमजोर आर्थिक अवस्था र अर्कोतिर परिवारका सदस्य गुमाउनुपर्दा महतो विरक्तिए । महतोको अहिले पनि ओत लाग्ने घर छैन । साहूले आफ्नै जग्गामा बनाइदिएको झुपडीमा महतो र उनको छोरा बस्दै आएका छन् । भएको दुई कठ्ठामा घर बनाउने उनको धोको छ ।
केही दिनअघि भएको दुई कठ्ठा जग्गामा काम गर्दै गर्दा उनलाई गैँडाले आक्रमण ग¥यो । उनी घाइते भए । उपचार गर्ने पैसा नभएका महतोलाई बाघमारा मध्यवर्ती सामुदायिक वनले उपचार गरिदियो । महतो उपचारपछि निको भए । घर नभएका कारण उनी त्यहाँ बस्न डराए । चार दिनदेखि उनी राधा स्वामी सत्याङ मन्दिर चित्रसारीमा बस्दै आएका छन् ।




















