प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ अनले पारमाणविक तथा लामो दूरीको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन् । त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गरिने सत्तारूढ दलका अधिकारीलाई बताएका छन् ।
किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए । तर उनले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सेंत दिएका छन् । उनले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताएका छन् । किमको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताले ‘परमाणु निरस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षर’ गरेको बताए । ‘मलाई लाग्छ उनी वचन राख्ने मानिस हुन्,’ संवाददाताहरूसँग फ्लोरिडामा कुरा गर्दै ट्रम्पले भने । किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन् । ‘यदि किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचन भंग गरे भने त्यो एकदमै निराशाजनक हुन्छ,’ उनले सिबिएसलाई भने ।
उनका अनुसार ट्रम्पले ठूला सैन्य अभ्यास नगर्ने सहमति व्यक्त गरेपछि किमले अस्त्रपरीक्षण नगर्ने वचन दिएका थिए। ‘हामीले आफ्नो वचन राखेका छौं । उनले पनि आफ्नो वचन राख्छन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने । सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन । गत एप्रिल महिनामा किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए । प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीटमार्फत् किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए ।
गत फेब्रुवरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठक विफल भएको थियो । उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक नाकाबन्दीहरू हटाउन अमेरिका तयार नभएपछि भियतनामको हनोईमा भएको वार्ता विनासहमति टुंगिएको थियो । उत्तर कोरियाले सन् २०१९ को उत्तरार्धमा विभिन्न क्षेप्यास्त्रको परीक्षण गरेको थियो । अमेरिकालाई दबाव दिन गरिएको उसले त्यसको गरेको भन्ठानिएको छ । पारमाणविक अस्त्र र अमेरिकासम्म मार हान्ने क्षमता भएका इन्टर्कन्टिनेन्टल बलिष्टिक मिसाइल (आइसिबिएम)ढको परीक्षण स्थगन गर्ने उसको निर्णय अमेरिकासँग वार्ता गर्ने एउटा प्रमुख आधार थियो ।
नयाँ वर्षको पहिलो दिन पार्टीको बैठकमा बोल्दै किमले उत्तर कोरियालाई अस्त्रपरीक्षण स्थगन गर्ने आफ्नो घोषणा पालना गरिराख्न कुन बाध्यता नभएको बताए । अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यासलाई निरन्तरता दिएकाले उत्तर कोरियाले अस्त्रपरीक्षणसम्बन्धी निर्णय एकतर्फी रूपमा कायम राख्नु आवश्यक नभएको उनको तर्क भएको केसीएनएले जनाएको छ ।
किमले ‘संसारले निकट भविष्यमै नयाँ रणनीतिक अस्त्र देख्ने’ चेतावनी दिए पनि त्यसबारे विस्तृत विवरण दिएनन् । उनी प्योङ्याङमा आयोजित पार्टीका नेताहरूको भेलामा बोलेका थिए । यो समयमा भेला आयोजना गर्नु असामान्य मानिन्छ । पहिला किमले नववर्षको उपलक्ष्यमा भाषण गर्ने गरेका थिए । तर यसपालि त्यसको कुनै संगेत देखिएको छैन ।
ट्रम्प र किमबीच पहिलोपटक सन् २०१८ मा सिंगापुरमा शिखर वार्ता भएको थियो । सिंगापुरमा भएको ऐतिहासिक भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए । त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट अब ‘पारमाणविक खतरा’ नरहेको टिप्पणी गरेका थिए । तर प्योङ्याङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धताविना सहमति गरेकोमा ट्रम्पको आलोचना भएको थियो । आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर प्योङ्याङले कैयौं अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध खेप्दै आएको छ ।



















