पिपीएल क्रिकेट : चितवनको फराकिलो अन्तरको जित

पोखरा । चितवन राइनोजका शुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गर्नुभएपछि पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको चितवनले उत्कृष्ट शुरुआत गरेको थियो ।

चितवनका शुरुआती ब्याटस्म्यान रोहन र पारस दुवैले अर्धशतक पूरा गर्दै टोलीका लागि उत्कृष्ट शुरुआत गरेका थिए । रोहनले ५६ बल सामना गरी ७० रन बनाए भने पारसले ४० बलमा ६३ रन जोडे ।

 त्यसैगरी चौथो क्रममा ब्याटिङमा आएका आरिफ शेखले १९ बलमा ४० रन जोड्नुभएपछि चितवनले विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो । चितवनले निर्धा्रित पूरै ओभर खेल्दै तीन विकेटको क्षतिमा २०३ रनको विशाल योगफल तयार गरेको थियो ।

 जितका लागि २०४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बुटवल १८ दशमलव चार ओभरमा ८४ रन जोडेर अल आउट हुन पुग्यो । बुटबलका अफ्ताबुद्दिन अहमदले दुई र अविनाश बोहोराले एक विकेट लिए ।  बुटवलका शिभम् सिंहले ३३ बलमा ३३ रन जोडे भने भीम सार्कीले २१ बलमा २१ तथा हरि चौहानले २० बलमा १२ रन बनाए पनि अन्य ब्याटसम्यानले दोहोरो अङ्कको रन जोडे । 

चितवनका करण केसीले आफ्नो तीन दशमलव चार ओभर बलिङमा चार विकेट लिएर मात्र ११ रन खर्चिँदै उत्कृष्ट बलिङ गरे । त्यस्तै रोहन मुस्ताफाले दुई तथा सन्नी पटेल, भुवन कार्की, विक्रम सोव र विक्रम भुसालले समान एक/एक विकेट लिए ।

 आजको जितसँगै दुई खेल खेलेको चितवन चार अङ्क बटुलेर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा सहभागी अन्य पाँच टोलीको समान दुई अङ्क रहेको छ । यद्यपि काठमाडौँ गोल्डेन वारियर्स र पोखरा पल्टनले तीन खेल खेलिसकेका छन् भने अन्यले दुई खेल खेलेका छन् ।