झापा÷ सन् १९९० देखी झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीको ९२ प्रतिशत समस्या समाधान भएको संयूक्त राष्ट्रसघंको शरणार्थी मामिला सम्बन्धी उच्च आयोग (यूएनएचसिआर) ले जनाएको छ । बिहीबार झापाको दमकमा प्रदेश नं १ का सञ्चारकर्मीसँगको संयुक्त छलफमा यूएनएचसिआर दमक शाखाका प्रमुख के फान्साले बताए । ‘भुटानी शरणार्थीका लागि हामीले काम गर्न थालेदेखी हाम्रो उदेश्य अनुसारको काम हामीले करिव करिव सम्पन्न गरेका छौ ।’ छलफलमा बोल्दै फान्साले भने‘ अव बाँकी काम हाम्रो होईन । यस देखी बाहेकका काम गर्ने अन्य निकायले अव काम गर्छन् ।’ उनले उदाहरण दिदै भने शरणार्थीका लागि हामी केवल नर्स मात्र हौँ पूर्ण चिकित्सक होईनौ ।
नर्सले चोटपटक लागेकालाई मल्हम पट्टि गरिदिने हो पूर्ण उपचार गर्ने होईन । हामीले नेपालमा रहेका भुटानी शरणार्थीको पीडामा हाम्रो दायित्व अन्तर्गतको मल्हम पट्टि लगाई सक्यौँ थप उपचार गर्ने काम अव चिकित्सकको हो । ’ फान्साले भने । विस्वमा शरणार्थीका कयौ समस्या र चुनौती छन् । ३० वर्ष अघि देखी भुटानी शरणार्थीमा देखीएको समस्या विस्वका अन्य देशको समस्यामा निकै सानो समस्या हो । अन्य देशका शरणार्थीले नेपालमा रहेका भुटानी शरणार्थीले जति पनि सेवा पाउन नसकेको उनले बताए । शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय कानुका बारेमा बताउँदै उनले भने विश्वको तुलनामा नेपालको शरणार्थी समस्या ० दशमलव ००२ प्रतिशत मात्र हो । ‘अव सन् २०२० देखि यहाँ यूएनएचसिआरले केही गर्दैन । हामी यहाँ बाँकी रहेका शरणार्थीलाई नेपाल सरकारलाई नै जिम्मा लगाएर फर्कदै छौ ।’ उनले भने यद्यपी भुटानी शरणार्थीको यो नै पूर्ण समाधान चाही होईन । न पूनर्वासमा पुर्याउनु समाधान हो न त नेपालमै बस्ने वातावरण मिल्नु नै समाधान हो । खास समाधान भनेको आफ्नो देश नै फर्कने हो ।
भुटानी शरणार्थीलाई आफ्नो देश फर्काउने हाम्रो प्रयास सफल भएन यद्यपी बाँकी पहलका लागि सहकार्य चाही रहने छ तर पहिलाको जस्तो अब हामी भुटानी शरणार्थीका लागि काम गर्दैनौ । ’ बाँकी रहेका शरणार्थीलाई जीविको पार्जन गर्न सक्ने बनाईसकिएको र उनीहरुलाई अव खान र बस्नका लागि कुनै समस्या नहुने यूएनएचसिआर दमकका कार्यक्रम संयोजक जमेश मण्डोले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार तथा बसोबासका लागि हामीले सबै प्रबन्ध मिलाईसकेका छौ । अव भुटानी शरणार्थी आफै आत्म निर्भर भै सकेका छन् ।’ मण्डोले भने शरणार्थी बालबालिकाको शिक्षाका लागि दमकमा दुई वटा विद्यालयसँग सम्झौता भएको छ विद्यार्थीहरु पढ्न समेत थालिसकेका छन् । दमक नगरपालिका वडा नं ३ मा रहेका ढुकुरपानी माध्यमिक विद्यालयमा ८ वटा कक्षामा ७ सयजना भुटानी शरणार्थी विद्यार्थी छन् भने चुलाचुली आधारभूत विद्यालयको ४ वटा कक्षामा ३ सय जना विद्यार्थीहरु अहिले अध्ययन गरिरहेका छन् । बाँकी विद्यार्थीलाई पनि आगामी शैक्षिक शत्रदेखी यिनै विद्यालयमा नै पढाउने गरिको सम्झौता तत् विद्यालयमा सम्झौता भईसकेको छ ।
‘ती विद्यालयमा आवश्यक संरचना, प्रविधि, तथा शिक्षकहरुको समेत व्यवस्था मिलाएर हामीले विद्यार्थी दिन लागेका हौ’ मण्डोले भने । त्यसैगरि जीविको पार्जनका लागि महिला तथा यूवाहरुलाई विभिन्न आयमुलक सिप सिकाई रहेका छौ । कतिपयले सिप सिकेर काम समेत थाली सकेको उनले बताए । विरामी भएमा आम्दा र दमक अस्पताल सँग स्वास्थ्य सम्झौता गरिएको छ । त्यहाँबाट सुविधा लिन सक्ने छन् भने खानेपानीका लागी १ लाख लिटर क्षमता भएको खानेपानीको ट्याकंी समेत निर्माण गरिएको छ । बस्नका लागि भुईमा पक्की गरिएको र जस्तापाताको छानो सहितको टहरा बनाइदिएका छौ । यती भए पछि भुटानी शरणार्थी आफ्नो गुजारा गर्न सक्छन् भन्ने हाम्रो विश्वास हो । ’ मण्डोको भनाई छ । बाँकी रहेका भुटानी शरणार्थीलाई स्वाभलवम्बी समेत बनाएको र अव स्थानीय समुदायसँग समेत घुललिम हुन थालेकोले नेपालको शरणार्थी समस्या समधान भएको यूएनएचसिआरको निष्कर्ष छ ।




















