जडीबुटी संकलन गर्न गएका दुई किशोरको मृत्यु

बझाङ । बझाङमा हिउँमा पुरीएर दुई किशोरको मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षिया कविराज बोहरा र १४ वर्षिया शहदेब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश बमले जानकारी दिए ।

मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरीएर मृत्यु भएको हो । जडीबुटी संकलन गर्न गएका दुवै जना घर नफर्कीएपछि खोजी गर्दै जाँदा मंगलबार दुवै जना मृत अवस्थामा फेला परेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए । अहिले प्रहरी चौकी दौलीचौरबाट घटनास्थलमा प्रहरी टोली खटिएको प्रहरी नायव उपरीक्षक बमले जानकारी दिए ।