स्टारडम फर्काउने दाउमा आर्यन

काठमाडौं । एक समयका सुपरहिट हिरोको रूपमा रहेका आर्यन सिग्देल आजभोली चलचित्रमा खासै देखिँदैनन् । चकलेटी नायक आर्यनलाई पाँच वर्षअघिमात्रै पनि चलचित्रमा थुप्रै अफर आउने गर्थे । तर अहिले निकै कम अफर आउँछन् । आर्यन फेरि पनि आफ्नो स्टारडम फर्काउने दाउमा छन् । आर्यन अभिनित चलचित्र ‘च च हुई’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई लिएर आर्यन निकै उत्साहित छन् । 

अभिनेता आर्यनले काम गरेको पछिल्लो समयका चलचित्रले नेपाली बक्स अफिसमा खासै कमाल गर्न सकेका छैनन् त्यसैले उनलाई यस चलचित्रबाट सफल हुनु आवश्यक छ । एकपछि अर्को चलचित्र असफल हुँदै गर्दा आर्यन चिन्तित पनि छन् । ‘च च हुई’ सफल बनाउन चलचित्र टिमले विभिन्न कदम त चालेकै छ, आर्यनले पनि सफल होस् भन्ने चाहेका छन् । 

रिलिजको दोस्रो दिन अर्थात् शनिबारसम्मको चलचित्रको ओपनिङले सफल र असफलको निर्धारण गर्नेछ । प्रदर्शनको दोस्रो दिन बिदाको दिन भएकाले पनि चलचित्र हेर्ने दर्शक कत्तिको आउँछन् र सफल होला यो नहोला भन्नेमा ढुकढुकी मन आर्यनको पनि पक्कै छ ।

आर्यनले आफूलाई चलचित्रको स्क्रिप्ट मन परेकाले नै यो चलचित्र गर्न राजी भएको सुनाए । ‘मलाई सिच्वएसनल कमेडी मनपर्छ । यो चलचित्रमा पनि त्यस्तै छ त्यसैले पनि स्क्रिप्ट सुन्दा राम्रो लागेको हो । चलचित्र राम्रो बनेको छ, आशा छ दर्शकलाई मन पर्नेछ’, आर्यनले भनेका छन्, ‘जब चलचित्र अप्रोच गर्नुभयो म एकदमै खुशी भएको थिएँ । तर, सस्पेन्स–थ्रिलर चलचित्र अफर हुने होकि भन्ने डर पनि लागेको थियो । मलाई यो जनरा पिटिक्कै मन पर्दैन ।’ 

कमेडी–रोमान्टिक जनरामा निर्माण भएको यो चलचित्र हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ । चलचित्रमा आर्यनसँगै नायिका मिरुना मगर र भोला सापकोटाको मुख्य भूमिका छन् । चलचित्रमा आर्यन र मिरुनाले पहिलोपटक सँगै काम गरेका हुन् । 

साम्तेन भुटियाले निर्देशन गरेको यो चलचित्रमा आर्यन ‘प्रेम’ र मिरुना ‘संगीता’ को भूमिकामा छन् । आर्यनको साथीको भूमिकामा भोलाराज सापकोटा छन् । चलचित्रमा पनि उनको नाम भोला नै छ । त्यस्तै, कलाकार माओत्से गुरुङ ‘श्यामलाल’को भूमिकामा छन् । ‘त्यान्द्रो’, ‘साढे सात’लगायत चलचित्रको निर्देशन गरिसकेका निर्देशक भुटिया यसपटक आफूले पूर्ण कमर्शियल चलचित्र बनाउन खोजेको बताउँछन् ।