युगाण्डा । एउटा अग्रणी परोपकारी संस्था मेरी स्टोप्सले युगाण्डामा वितरण गरिएका १० लाखभन्दा बढी कण्डम सुरक्षित प्रयोगसम्बन्धी चासोलाई लिएर फिर्ता लिएको जनाएको छ ।
परीक्षणका क्रममा लाइफ गार्ड ब्राण्डका भारतमा निर्मित कण्डममा प्वाल पाइएको अथवा फुट्ने जोखिम देखिएको युगाण्डाको न्याश्नल ड्रग अथोरिटी (एनडीए) ले जनाएको छ । मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । संयुक्त राष्ट्रसंघका अनुसार युगाण्डामा करिब ६ प्रतिशत वयस्क एचआईभी एड्सबाट प्रभावित छन् ।
अर्को अध्ययनअनुसार त्यहाँ ११ प्रतिशतले मात्रै योजना बनाएर गर्भाधारण गर्ने गरेको पाइएको छ । मेरी स्टोप्सले युगाण्डामा प्रतिमहिना १५ लाखदेखि २० लाखवटा सम्म कण्डम आपूर्ति गर्ने गरेको छ । ‘यस किसिमको विषयलाई लिएर कुनै एउटा देशको हाम्रो कार्यक्रमले फिर्ता लिएको यो पहिलो घटना भएको हामी पुष्टि गर्न सक्छौं’, मेरी स्टोप्सले बीबीसीलाई बताएको छ ।
गुणस्तर परीक्षणमा लाइफ गार्डका दुई खेप कण्डम विफल भएको भन्दै एनडीएले गत अक्टोबर ३० तारिखमा लेखेपछि पछिल्लो कदम चालिएको हो । पठाइएका ती खेपका कण्डममा देखिएका समस्याबारे र उच्च गुणस्तरको उत्पादनलाई जारी राख्ने विषयमा एनडीएसँग मिलेर काम गरिरहेको मेरी स्टोप्सले जनाएको छ । उसले अगाडि भनेको छ, ‘दुई खेपमा दश लाखवटा भन्दा बढी कण्डम भएका तीन लाख ३५ हजार प्याक हामीले फिर्ता लिइरहेको हामी पुष्टि गर्न सक्छौं ।’



















