न्यूयोर्क । अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इष्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ । आइतबार भएको निर्णयअनुसार ब्रुकको स्थानमा म्याकडोनाल्डले कम्पनीको अमेरिका प्रमुख (अध्यक्ष) क्रिस केम्पजिन्स्कीलाई नियुक्त गरिसकेको छ । केम्पजिन्स्की म्याकडोनाल्डको सञ्चालक समितिको निर्वाचित निर्देशकमध्ये एक हुन् ।
आफ्नै कार्यालयका कार्यरत एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको सूचना बाहिरिएपछि ब्रुकलाई जिम्मेवारीबाट हटाएको हो । ब्रुकले कर्मचारीसँग सहमतिमा प्रेमसम्बन्ध राखेको भए पनि कम्पनीको नेतृत्वमा रहेर कम्पनीको अनुशासन र नीति उल्लंघन गरेको आरोप लगाइएको छ । कर्मचारीसँग प्रेम सम्बन्ध गाँस्ने कुरा कमजोर निर्णय क्षमता भएका उनीमाथि कम्पनीले आरोप लगाएको छ । ब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको महसुस भएको र कम्पनीको मूल्य र मान्यतालाई ध्यान दिँदै जागिर छोड्न बोर्डसँग सहमतिसमेत गरिसकेको सञ्चार माध्यमसँग उनले बताएका छन् ।
बेलायती नागरिक ब्रुकले श्रीमतीसँग भने सम्बन्ध विच्छेद गरिसकेका छन् । ५२ वर्षीय ब्रुकले सन् १९९३ मा लण्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा कम्पनीको काममा जोडिएका थिए । सन् २०१५ मा म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए । ब्रुकले म्याक्डोनल्ड्सको ख्यातीलाई नयाँनयाँ योजना र सेवाका सूचीद्वारा कम्पनीलाई उचाइमा पु¥याएका थिए । उनको नेतृत्वबाट कम्पनीको शेयर मूल्यमा निकै वृद्धि भएको थियो ।



















