काठमाडौं । नेपाल र बंलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा विभिन्न एजेण्डामा ४ बुँदे सम्झौताका लागि आवश्यक गृहकार्य गर्ने सहमति भएको छ ।
नेपालको कृषि विभाग र बंगलादेशको कृषि प्रसार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको सम्बन्धित निकाय, साल्ट टे«डिङ कर्पोरेसन र टे«डिङ कर्पोरेसन अफ बंगलादेश, राष्ट्रिय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र टे«डिङ कर्पोरेसन अफ बंगलादेशबीच सम्झौता गर्ने सहमति भएको नेपाली पक्षका वार्ताटोली प्रमुख उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।
बैठकमा दुई देशबीच सडक, रेल तथा आन्तरिक जलमार्ग र हवाई मार्गमार्फत पारवहन तथा कनेक्टिभिटी प्रवद्र्धनका लागि सहकार्य गर्ने, ट्यारिफ एण्ड ननट्यारिफलगायत व्यापार अवरोध हटाई व्यापार सहजीकरण गर्ने, पर्यटन प्रवद्र्धन, द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण लगायतका विषयमा समेत गहन छलफल भएको उनले बताए । व्यापार, पारवहन, लगानी लगायतका विषयमा पनि छलफल भएको उनले जनाए ।
नेपाली पक्षले नेपाली धागो निर्वाधरूपमा बंगलादेशमा पु¥याउन आवश्यक व्यवस्था मिलाउन बंगलादेशलाई आग्रह गरेको थियो । ठूलो परिमाणमा अलैंची, अदुवा, अम्रिसोलगायत नेपाली कृषिजन्य तथा औद्योगिक वस्तुमा बंगलादेशमा भन्सारका अतिरिक्त विभिन्न प्रकारका अतिरिक्त शुल्क लाग्ने भएकाले निर्यात हुन सकेका छैनन् । नेपाली वस्तुहरू बंंगलादेशमा प्रतिस्पर्धा गर्न नसकी नेपालकै निर्यातमा ठूलो असर परेकोले भन्सारदर घटाउनुका साथै अतिरिक्त शुल्क हटाई सहजता प्रदान गर्न बंगलादेश पक्षलाई आग्रह गरेको ढकालले जानकारी दिए ।
त्यस्तै, नेपाली विद्यार्थीले बंगलादेश प्रवेशमा भोग्नुपरेको भिसा समस्या व्यावहारिक ढंगले समाधानका लागि ठोस पहल गर्न पनि नेपाली पक्षले आग्रह गरेको छ । उल्लिखित विषयलाई बंगलादेशी पक्षले सकारात्मक रूपमा लिएको ढकालले बताए ।
वार्तामा नेपाल पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकालले गरेका थिए भने बंगलादेश तर्फबाट बंगलादेशका वाणिज्य मन्त्रालयका अतिरिक्त सचिव शरिफा खानले गरेका थिए ।



















