तिहार नजिकिएसँगै प्रजापति समुदाय व्यस्त

काठमाडौं । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायको व्यस्तता पनि बढ्ने गरेको छ । हिन्दू धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आएसँगै माटाका भाँडा बनाउने प्रजापति समुदायको व्यस्तता बढ्न थालेको हो ।

तिहारको समयमा माटोको पालाको माग बढ्ने गरेकाले यो समयमा व्यस्तता बढ्ने गरेको उनीहरू बताउँछन् । सुरक्षाका दृष्टिकोणले सबल र आर्थिक हिसाबले पनि सस्तो पर्ने भएकोले यसको माग बढी हुने गरेको थियो । पछिल्लो आधुनिक सामग्री उत्पादनले गर्दा माटाका भाँडाको माग केही कम भएको यज्ञराम प्रजापति बताउँछन् ।

बच्चै हुँदादेखि माटाका भाँडा बनाउने काम थालेको बताउँदै उनले भने, ‘उहिल्यै बजार ठिकै थियो । अहिले त्यो बेलाको जस्तो छैन ।’ व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था नभए पनि माटाको भाँडाको माग निकै घटेको उनले बताए । ‘विद्युत्बाट बल्ने झिलिमिली बत्तीहरूले बजार ओगटेका छन्,’ उनले भने ।

एक दिनमा एक हजार पाला बनाउने गरेको बताउने यज्ञरामको पूरै परिवार यही व्यवसायमा संलग्न छ । वर्षभरिको कमाइ कति हुन्छ भन्ने हिसाब नभए पनि परिवार धान्न पुग्ने उनी बताउँछन् । भन्छन्, ‘बाहिरको कामदारलाई पैसा दिनुपर्छ भन्ने छैन, सबै काम आफैं गर्छौं । छोराछोरी पढाउन पुगेकै छ । घर खर्च चलेकै छ । हिसाब राख्ने गरिएको छैन ।’ वर्षमा दुई÷साढे दुई लाखसम्म आम्दानी हुन सक्ने उनको अनुमान छ ।

यज्ञरामका अनुसार एक पाला पूर्णरूपमा तयार हुन कम्तीमा ५ दिनदेखि एक हप्ता समय लाग्छ । कच्चा पदार्थको रूपमा प्रयोग हुने माटोको अभाव हुनु र बजारमा कृत्रिम वस्तुहरू बढी आउने गरेकाले व्यवसायमा केही असर परेको गुनासो उनी गर्छन् । 

अर्का व्यवसायी सुदेश प्रजापतिको धारण पनि उस्तै छ । बजारमूल्य पनि सोचेजस्तो नहुने र कृत्रिम वस्तुले आफ्नो पेसामा संकट निम्त्याएको उनी बताउँछन् । ‘माटाको भाँडा बनाउने कामलाई अहिले खाली समयको सदुपयोग गरौँ भन्ने मात्रै भएको छ,’ उनले भने, ‘बेरोजगार किन बसौँ भनेर मात्रै यतातिर सीप भएकाले हात हालियो तर के गर्नु, सरकारले हेर्दैन ।’ आफूहरूको पुख्र्यौली पेसा नै लोप हुने डर लागेको उनी बताउँछन् ।

दीपावली गर्न मैन र विद्युतीय बत्ती बाल्ने प्रचलन बढे पनि विगतका केही वर्षयता माटोको पालामा मैन भरेर बाल्ने क्रम बढेको छ । यद्यपि, माटाका भाँडा बनाउने व्यवसायीहरू भने सोचेजस्तो व्यापार नभएको बताउँछन् । 

तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरूको माग उच्च हुने गरेको छ ।

भक्तपुरका बोलाछें, ठिमी, व्यासी, पोटरी स्क्वायर लगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने माटोका भाँडाहरू बनाउने गरिन्छ ।