क्यान र क्रिकेट

गत साता दुई घटनाले नेपाली क्रिकेट तरंगित बन्यो । एक, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले साढे तीन वर्षदेखि नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन फुकुवा ग¥यो जुन खुसीको समाचार थियो । यसले धेरैलाई उत्साहित बनायो । अर्को, त्यसको २४ घण्टा नबित्दै पारस खड्काले अप्रत्यासितरूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएको घोषणा गरे । यो समाचारले निलम्बन फुकुवाबाट उत्साहित नेपाली क्रिकेटप्रेमीलाई आश्चर्यचकित र निराश बनायो ।

दश वर्ष नेपाली क्रिकेट टोलीको नेतृत्वमा रहेका पारस सर्वाधिक सफल कप्तान हुन् । उनले नेतृत्व लिँदा धेरै कमले सोचेका थिए विश्वकप खेल्ने, एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता हासिल गर्ने, एक दिवसीय र टि–२० शृंखला जित्ने कुरा । उनको नेतृत्वमा यो सफलता हासिल भयो । विश्व क्रिकेट लिगमै भौतारिँदो नेपाली क्रिकेटलाई पारसले इलिट श्रेणीसम्म पु¥याए ।

क्यानको नयाँ कार्यसमिति बनेको र निलम्बन फुकुवा भएको समयमा पारसको कुशल नेतृत्वमा नेपाली टोलीले थप प्रगति गर्ने अपेक्षा थियो तर राजीनामाको अप्रत्यासित निर्णयले धेरैलाई झट्का दियो । नवनिर्वाचित क्यानका लागि टोलीको अर्को नेतृत्व खोज्नु पहिलो चुनौती हुनेछ । पारसले आफू नफर्कने जनाइसकेका छन् । क्यानको बैठकले पनि पारसलाई नेतृत्वमा फर्काउने सन्दर्भमा कुनै निर्णय नगरेपछि उनकोे कप्तानी सकिएको मानिएको छ ।

नेपाली क्रिकेटले देखेको अर्को सपना टेष्ट मान्यता हासिल गर्नु हो जो जुन आधुनिक क्रिकेटको सबैभन्दा उच्च श्रेणी हो । यसका लागि टिम एकजुट बनाएर लैजान सक्ने, दूरगामी र स्पष्ट दृष्टिको अनुभवी कप्तान अवश्यक हुन्छ । क्यानले टोलीको मनोबल उकास्ने गरी नेतृत्व सुम्पनु जरुरी छ ।

क्यान निलम्बन गर्दा आइसीसीले निष्पक्ष चुनाव नभएको, सरकारी हस्तक्षेप भएको र आर्थिक अपारदर्शिता रहेको भनेको थियो । फेरि निलम्बनको बादल मडारिन नदिन क्यानले खेलकुद मन्त्रालय, राखेप तथा ओलम्पिक कमिटीसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ । एकअर्काको अधिकारमा हस्तक्षेप नगरी आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । निलम्बनबाट जो क्षति भयो त्यो अब दोहोरिनु हुन्न । क्यानको आम्दानीको ठूलो हिस्सा आइसीसीले दिने अनुदान हो । आइसीसीको पारदर्शी हिसाब चाहन्छ । उसले चौमासिकरूपमा आय–व्यय विवरण माग्छ । यसतर्फ क्यान नेतृत्वको ध्यान जान आवश्यक छ जो पहिले भएन ।

नयाँ नेतृत्वले गर्नुपर्ने अर्को काम निष्क्रिय घरेलु क्रिकेट सक्रिय गराउनु हो । क्यान निलम्बनमा परेदेखि नेपाली घरेलु क्रिकेटको संरचना ध्वस्त भएको छ । जिल्लास्तरीय, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिता भएका छैनन् । परिणामस्वरूप राष्ट्रिय टोलीका लागि सहयोगी मानिने बेन्च टिम नै बन्न सकेन । क्यानले तहगत प्रतियोगितामा ध्यान दिई क्रिकेट चलायमान बनाउनुपर्छ । राखेपले सरकारीस्तरबाट आयोजना गर्दै आएको प्रधानमन्त्री कप क्रिकेट क्यान मातहत परिष्कृत ढंगबाट चलाउनुपर्छ । क्यानले लामो फम्र्याटका क्रिकेटलाई महŒव दिनु जरुरी छ ।

क्यान निलम्बनपछि नेपाली क्रिकेट निजी क्षेत्रले धानेको छ । निजी क्षेत्रबाट पुरुषका तीनवटा र महिलाको एउटा व्यावसायिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुने गरेको छ । तिनलाई निश्चित क्यालेण्डरमा व्यवस्थित गर्न पनि क्यानले ध्यान दिनुपर्छ नत्र एकअर्कासँग समय जुध्नेलगायतका समस्याहरू हुन सक्छन् । खेलकुद बोर्डको केन्द्रमा खेलाडी नै हुन्छन् । क्यानले पनि अब खेलाडीको आवश्यकतालाई सर्वोपरी मानेर काम गर्नुपर्छ । खेलाडीहरूको सेवासुविधा, म्याच एक्पोजर, वैदेशिक प्रशिक्षण, शृंखलाहरूको आयोजना, प्रशिक्षक नियुक्तिलगायतका काममा क्यान गम्भीरतापूर्वक लाग्नु आवश्यक छ ।