वृद्धाश्रममा बसेर घरको सम्झना

काठमाडौं । समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा आश्रित ८५ वर्षीय रामशरण दशैँको टीका लगाउने दिन गनेर बसिरहेका छन् । जब चाडपर्व नजिकिन थाल्छ, उनलाई सन्तानको मायाले सताउने गर्छ । जन्मथलो सिन्धुपाल्चोक भएका रामशरणले दुईवटा दशँै पशुपति वृद्धाश्रममै बिताए । राम्रोसँग पढ्न र लेख्न सक्ने उनलाई हरेक चाडपर्वहरू कहिले र कुन दिन परेको छन् राम्रैसँग याद हुन्छ ।

समाज कल्याण केन्द्र पशुपति वृद्धआश्रमले दशैँको अवसरमा  वृद्धावृद्धहरूलाई नयाँ कपडा, खानेकुरा हरेक वर्षजस्तै बाँड्दै आएको छ । मंगलबार आश्रममा बाँडेका नयाँ कपडामा धेरै वृद्धावृद्धहरू खुसी देखिन्थे तर रामशरणको मुहारमा भने कत्ति पनि खुसी छाउन सकेको थिएन । लामो समयदेखि रामशरण एउटै सहारा छोराको साथमा जोरपाटीमा बस्दै आएका थिए । पेसाले वकिल छोरो र नर्स बुहारीसँग रामशरणको बिछोड भएको ४ वर्ष बितिसकेको छ । २०७२ सालको भूकम्पले जोरपाटीमा रहेको घर भत्किएपछि त्यस वर्षको दशैंको टीकाको दिन नै उनका छोराबुहारी क्यानडा उडेका थिए । आफूलाई एक वर्षभित्र लिन आउने भनेर एउटा कोठामा छोडेर गएका उनीहरू अझै फर्केर नआएको र एकपटक पनि सोधीखोजी नगरेको उनको दुखेसो छ ।

‘सात महिना कोठामा बसेँ आफूसँग भएको खर्च पनि सकियो, कोठाभाडा तिर्न नसकेपछि घरबेटीले वृद्धाश्रमसम्म ल्याएदिए,’ उनले भने । उनी आफूलाई बुढेसकालको अभागी ठान्छन् । भन्छन्, ‘हामीजस्ता अभागी बाबुआमालाई यस्ता चाडपर्व नआएकै राम्रो लाग्छ । जति चाडपर्व नजिक आउँछन् उति नै सन्तानको सम्झना आउने गर्छ ।’

आश्रममा आफूजस्तै अरूलाई देख्दा अलिकति चित्त बुझ्ने भए पनि सम्झनाले सताइरहन्छ उनलाई । सानो हँुदा एकछिन छोड्न नमान्ने छोराछोरी ठूला भएपछि बाबुआमा छोड्न अघि सर्ने गरेको देख्दा नराम्रो लाग्ने गरेको रामशरणको भनाइ छ । 

अरू वृद्धवृद्धाको अवस्था पनि रामशरणसँग मिल्छ । आश्रममा रहेका धेरैजसो वृद्धवृद्धाको सन्तान र घरपरिवार भएर पनि बुढेसकालमा आश्रम नै सहारा बनेको छ ।

धादिङकी मखमली विकले घर छोडेको सात वर्ष पुगेको छ । आफ्नो उमेर कति भयो भन्ने पनि उनलाई हेक्का छैन । सात वर्षमा उनलाई भेट्न छोरी चारपटक र छोरा तीनपटक आश्रममा आए । मखमली एक छोरा र दुई छोरीकी आमा हुन् । नातिनातिना पनि छन् । उनीहरू भेट्न नआएको २ वर्ष पुगेको छ । ‘छोराले दुई बिहे ग¥यो । दिनदिनै घरमा झगडा भएपछि बस्न मन लागेन । छिमेकीले यहाँ ल्याएपछि यही आश्रममा बसेकी छु,’ उनले आफ्नो बाध्यता सुनाइन् । कसैले मीठो खानेकुरा दिँदा र कसैले आमा भनेर बोलाउँदा उनलाई खुसी लाग्छ । चाडपर्व नजिक आउँदा सन्तानको धेरै याद आउँछ । भन्छिन्, ‘मलाई याद आएर मात्रै के गर्नु आएर उनीहरूलाई मेरो याद नआएपछि ।’ 

उमेरमा तिनै छोराछोरीलाई संसार देखाउन दुःख गर्ने धेरै बाबुआमा अशक्त भएपछि वृद्धाश्रममा पुग्ने गरेका छन् । वृद्धाश्रममा खुसी हुनु उनीहरूको बाध्यता हुने गरेको छ । वृद्धाश्रममा बस्नु पर्दा आफूलाई जेलजस्तो लाग्ने गरेको मखमली बताउँछिन् । उनी भन्छिन्, ‘मलाई त जेलजस्तो लाग्छ ।’ हाल पशुपति वृद्धाश्रममा १८६ जना वृद्धवृद्धा आश्रित छन् ।