काठमाडौं := मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस औपचारिक विभाजन उन्मुख भएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि नेपाली कांग्रेस औपचारिक फुटको संघारमा पुगेको हो । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति आमनेसामने भएको छ ।
पूर्वसभापति देउवा पक्षले आज (मंगलबार) १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । । तत्कालीन मुख्यसचिव कृष्ण पौडेलले बैठकमा उपस्थित हुन सबैलाई टेलिफोन गरेर बोलाउनुभएको छ । बैठक मंगलबार र बुधबार दुई दिनसम्म चल्ने बताइएको छ ।
देउवा पक्षीय नेता रामहरि खतिवडाका अनुसार टेलिफोनबाट बैठकमा उपस्थित हुन भनिएको छ । तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक, अर्का पूर्वमन्त्री दीपक खड्का पक्राउ र २१ फागुनमा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गर्ने उल्लेख छ ।
ओली र लेखक पक्राउको विषयमा पार्टी संस्थापन र देउवा पक्षले अलग–अलग विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका थिए । संस्थापन पक्षले गत २३ र २४ भदौका दुवै घटनाका दोषीउपर विधि र पक्रियासम्मत तरिकाले हुने कारबाहीमा पार्टीको साथ रहने विज्ञप्तिमा उल्लेख छ । तर, देउवा पक्षले ओली र लेखक पक्राउ राजनीतिक प्रतिशोध भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेस संस्थापन पक्षले बुधबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । देउवा पक्षको बैठकको भोलिपल्टै अर्थात् बुधबार दिउँसो १ बजे बस्ने बैठकमा देउवा पक्षबाट भएको गतिविधि र निर्वाचनमा भएको अन्तर्घातबारे छलफल केन्द्रित हुने सूचनामा उल्लेख छ ।
पार्टी केन्द्रीय कार्यसमितिले १६–१९ असोजमा काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय लिइसकेको अवस्थामा देउवा पक्ष अदालतको फैसला नआएसम्म प्रक्रियामा सहभागी नहुने बताउँदै आएको छ । विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिने निर्णयविरुद्ध पूर्वसभापति देउवा र तत्कालीन कार्यबाहक सभापति खड्काले अदालतमा रिट दायर गरेका छन् ।
उक्त रिटको पेसी यही २२ चैतमा तोकिएको छ । पूर्वसभापति देउवा हाल सिंगापुरमा रहनुभएको छ । देउवा निर्वाचनअघि १३ फागुनमा सिंगापुर जानुभएको थियो । केही दिनअघि देउवा हङकङ जानुभएको देउवाको सचिवालयले जनाएको छ ।
सभापति थापा पक्ष आक्रोशित
पूर्वसभापति देउवा पक्षले पार्टी केन्द्रीय कार्यसमितिको नाममा समानान्तर गतिविधि चलाउन थालेपछि पार्टी सभापति गगनकुमार थापा पक्ष आक्रोशित भएको छ । थापाले सोमबार पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्नुभएको छ । बुधबार अनुशासन समितिको बैठक बोलाइएको छ । बैठकले देउवा पक्षका नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’कै हैसियतमा पार्टीको लेटरहेड प्रयोग गरी शनिबार निकालेको विज्ञप्ति र मंगलबार बस्न लागेको बैठकका बारेमा छलफल गर्ने भएको छ ।
त्यस छलफलको आधारमा अनुशासन समितिले कारबाहीको प्रक्रिया अघि बढाउन सक्ने चेतावनी संस्थापन पक्षीय नेताहरूले दिएका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिकै हैसियत राखेर पार्टीको लेटरहेडमा विज्ञप्ति निकाल्नुभएको थियो ।
देउवा पक्षले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकार गरेको छैन । देउवा पक्षीय नेता जितजंग बस्नेतले अदालतको निर्णय नआउँदासम्म दुई पक्षबीच समानान्तर गतिविधि चल्ने स्पष्ट पार्दै भन्नुभयो, ‘अदालतले यस्तो गम्भीर विषयमा निर्णय गर्न ढिलाइ गर्नु हुँदैन । चाँडै निर्णय दिनुपर्छ । अदालतको निर्णयबाटै कांग्रेसको एकताको बाटो खुल्छ । अहिले हामीले विशेष महाधिवेशनको अस्तित्व स्वीकार गरेका छैनौँ, त्यसैले समानान्तर गतिविधि चल्छ ।’
तर, पार्टी महामन्त्री प्रदीप पौडेलले विधिको शासनका लागि लडेका नेताहरूले नै संवैधानिक निकायका निर्णय र राजनीतिक दलसम्बन्धी कानुनविपरीत हिँड्न खोज्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै भन्नुभयो, ‘राजनीतिक दलले राज्यको दलसम्बन्धी कानुनको मान्यता र राज्य संरचनाको निर्णयलाई मान्नैपर्छ । चित्त नबुझे पनि मान्नुपर्छ । मूल्य-मान्यतालाई मानेर मर्यादा कायम गर्नुपर्छ । हाम्रा नेता विधिको शासन र लोकतन्त्रका लागि लामो समय लडेका हुन् ।’
समाचार स्रोत: अनिल क्षेत्री / हिमालय टाईम्स पत्रीका



















