काठमाडौं := फागुन २१ गते भएको प्रतिनिधिसभाको चुनावमा झण्डै दुईतिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डिपी (डोलप्रसाद) अर्याल सभामुखमा निर्विरोध हुनुभएको छ । सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।
उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । प्रवक्ता गिरीले भन्नुभयो, ‘सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ ।
एकल उम्मेदवारी परेको अवस्थामा भने एउटै दलको पनि हुन सक्दछ ।’ नेताहरूका अनुसार उपसभामुखबारे छलफल भएको छैन । उपसभामुखमा विपक्षी दल नेपाली कांग्रेस र नेकपा (नेपाल कम्युनिष्ट पार्टी) ले दाबी गरेका छन् । कांग्रेसले सभामुखमा रास्वपा उपसभापति डिपी अर्याललाई समर्थन गरेको छ ।
कांग्रेसले सभामुख पदमा पार्टीबाट उम्मेदवारी नदिने निर्णय गरेको थियो । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार सभामुखको तटस्थता कायम हुने विश्वाससहित सभामुख पदमा पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिनुभयो ।
उपसभामुख पदमा भने कांग्रेसले दाबी गरेको छ । महामन्त्री पौडेलले भन्नुभयो, “हामीले सभामुखमा उम्मेदवारी दिँदैनौँ, हामीसँग प्रस्तावक र समर्थक नभएर भने होइन, हाम्रा ३८ जना सांसद हुनुहुन्छ । सभामुख पद तटस्थ हो, भूमिका पनि निष्पक्ष रहनुपर्छ । कसले के जिम्मेवारी पाउने भन्ने प्रक्रियाले व्यवस्था गरेको छ, ठूलो दल रास्वपा छ र रास्वपाकै उम्मेदवार जित्ने देखिन्छ । प्रक्रिया र अंकगणितले को विजयी हुन्छ भन्दा पनि सभामुखको तटस्थता कायम हुने विश्वासमा हामीले उम्मेदवारी नदिएको हो ।”
दलीय हैसियतअनुसार पनि ठूलो दलले सभामुख लिएपछि त्यसपछिको ठूलो दल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभामुख पाउने कुरा स्वाभाविक रहने उल्लेख गर्दै भन्नुभयो, ‘सभामुखको हकदार जुन पक्ष हो, त्यहीअनुसार सोच्ने हो भने उपसभामुखको हकदार प्रमुख प्रतिपक्षी नै हो नि !’
अर्को, विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि उपसभामुख पदमा दाबी गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले भन्नुभयो, ‘बहुमत रास्वपासँग छ, हामी किन सभामुखमा उम्मेदवारी दिनु । उपसभामुख पदमा हाम्रो दाबी रहन्छ । हामी रास्वपासँग यो प्रस्ताव राख्छौँ तर अहिलेसम्म छलफल भएको छैन ।
रास्वपाको सहयोगबिना उपसभामुख जित्न सकिन्न, त्यसैले पनि सहयोगका लागि कुरा गर्नुपर्छ ।’ नेकपाले सभामुखमा रास्वपालाई समर्थन गर्ने बताएको छ । प्रतिनिधिसभामा नेकपाका १७ जना सांसद छन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुख निर्वाचनमा कसलाई सहयोग गर्ने भन्नेबारे अहिले छलफल नभएको जानकारी दिँदै भन्नुभयो, ‘उपसभामुखबारे अहिले हामीले छलफल गरेको छैन, सभामुख निर्वाचनपछि छलफल हुन्छ ।’
राष्ट्रियसभा उपाध्यक्षमा पनि कांग्रेसको दाबी
नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पदमा पनि दाबी प्रस्तुत गर्ने तयारी गरेको छ । कांग्रेस राष्ट्रियसभामा पहिलो दल हो । रिक्त रहेको उक्त पदमा दाबी प्रस्तुत गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभएको छ । हालसम्म नेपाली कांग्रेसले राष्ट्रियसभामा कुनै पनि पद पाएको छैन । यसअघि कृष्णप्रसाद सिटौलालाई सभाको अध्यक्ष बनाउने प्रयत्न कांग्रेसले गरेको थियो ।
तर, अन्तिम समयमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट धोका पाएपछि कांग्रेसले सभा अध्यक्ष पाउन सकेन । माओवादीले नारायण दाहाललाई अध्यक्ष बनाएको थियो । संघीय संसद् सचिवालयले यही चैत २३ चैत राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुनेगरी तालिका प्रकाशित गरेको छ । तालिकाअनुसार चैत २२ गते आइतबार मनोनयन दर्ता गर्नुपर्ने छ । उपाध्यक्ष पद आफ्नो पक्षमा पार्न अन्य दलसँग पनि संवादको थालनी गर्ने पौडेलले जानकारी दिनुभएको छ ।



















