काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान संशोधन कसैले सपना देख्नेबित्तिकै नहुने बताएका छन् । संविधान संशोधन अहिलेको आवश्यकता नभएको बताए ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रहेका मन्त्री बाँस्कोटाले अहिलेको आवश्यकता संविधान कार्यान्वयन भएको बताए । संविधान संशोधन केका लागि भन्ने पुष्टि नहुँदासम्म संशोधन नहुने उनको भनाइ थियो । ‘बाटोमा हिँड्दै गर्दा कसले के सपना देख्छ अनि संविधान संशोधन गरौं भन्यो भन्दैमा संविधान संशोधन हुँदैन,’ उनले भने, ‘संविधान रहर लागेर संशोधन हुने विषय होइन । यो आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ ।’
संविधान लेख्नुजस्तो चुनौतीपूर्ण काम सम्पन्न भइसकेकाले संशोधन कुनै ठूलो कुरा नभएको तर केका लागि भन्ने पुष्टि हुनुपर्ने उनले बताए । उनले भने, ‘संविधान त लेखियो संशोधन कुन ठूलो कुरा हो र ? लेखियो कुन अवस्थामा, संशोधन केका लागि हो त ? पुष्टि त हुनुप¥यो नि ।’
खाईपाई आएको सत्ता गुमेपछि संविधान च्यात्न लागेको आरोप लगाउँदै बाँस्कोटाले भने, ‘खाईपाई आएको सत्ता गुमेकालाई यो संविधान च्यात्नै परेको छ नि ¤ कसका लागि ? किन ? कुन धारा किन संशोधन गर्ने ? पहिले कार्यान्वयन गर्न दिऊँ न ।’
मन्त्री बाँस्कोटाले संविधान रामायण, कुरान, बाइबल नभएको बताउँदै पुष्टि भएमा संशोधन हुने नत्र जे छ, त्यस्तै चलिराख्ने बताए । उनले भने, ‘यो रामायण होइन, भानुभक्तले लेखेपछि त्यही हो । कुरान पनि होइन, पुराण पनि होइन, बाइबल पनि होइन । जनताले पनि संविधानको पालना गर्नुपर्छ । सरकारले मात्र होइन । कार्यान्वयनभन्दा संशोधनको दुष्चक्रममा किन जानुप¥यो ?’
उनले संविधान जनताले लडाइँ लडेर ल्याएकोले यसको कार्यान्वयन गर्ने अभिभारा सरकारले मात्र नभएर जनताको पनि भएको बताए ।
बाँके घटनाका दोषीलाई कारबाही हुन्छ
मन्त्री बाँस्कोटाले बाँके घटनाका दोषीलाई कारबाही हुने बताएका छन् । घटनाको विषयमा छानविन अगाडि बढेको बताउँदै उनले दोषीलाई कारबाही हुने बताए ।
गत साता बाँकेको खजुरामा कांग्रेसको जागरणसभामा नेकपाका कार्यकर्ताले गरेको आक्रमणमा कांग्रेस जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको छ । अन्य कार्यकर्तासमेत घाइते भएका छन् ।
मन्त्री बाँस्कोटाले भने, ‘हात भाँचिएको हो भने कानुनबमोजिम दोषीमाथि कारबाही हुन्छ । तर, छानविन हुनुअघि नै फैसला गर्ने शैली स्वीकार्य छैन ।’ हात कसले भाँचेको हो भन्ने छानविन गर्नुपर्ने उनले बताए । ‘प्रहरीले आवश्यक छानविन गरिरहेको छ । तर, विषयलाई छानविन गर्न दिनुअघि नै फैसला गर्ने, हामीले जे भन्यौं त्यही सही हो भन्ने शैलीलाई सरकारले विश्वास गर्दैन’, उनले भने ।



















