काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संयुक्त अरब इमिरेटस् (युएई)का राजदूत सइद हमदान अल नाकीबीच भेटवार्ता भएको छ । सो अवसर मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीको लागि उपयुक्त वातावरण बनेको भन्दै युएईका लगानीकर्तालाई नेपालमा लगानीको लागि सहजीकरण गरिदिन आग्रह गरे ।
उनले दुई देशबीचको सम्बन्धको चर्चा गर्दै आगामी दिनमासमेत सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरे । राजदूत सइदले ऊर्जा क्षेत्रमा नेपाल सरकारसँग काम गर्न युएई इच्छुक रहेको भन्दै युएईले पनि तेल र ग्यासको सट्टा ऊर्जामा ध्यान केन्द्रित गर्न जानकारी दिए । २४औं विश्व ऊर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जाने क्रममा रहेका मन्त्री पुनलाई राजदूत सइदले आइतबार ऊर्जा मन्त्रालयमै पुगेर कार्यक्रमबारेमा जानकारी गराएका थिए ।
ऊर्जामन्त्री वर्षमान पुन युएईको तीन दिने भ्रमणमा गएका छन् । युएईमा आयोजना हुने २४औं विश्व ऊर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा ७० मुलुकका ऊर्जामन्त्रीको सहभागिता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ता सहभागीता रहने ऊर्जा मन्त्रालयले जनाएको छ ।
१ सय ५० देशको सहभागिता रहने सम्मेलनमा तेल, ग्यास, जलविद्युत्, पूर्वाधार, ऊर्जा उत्पादन, वैकल्पिक ऊर्जा, नवीकरणीय उर्जा र ग्रिड प्रविधिका विषयमा छलफल हुनेछ । मन्त्री पुनले सम्मेलनमा इनर्जी, वाटर, फुड एण्ड इको सिस्टम अन द लुस्पका विषय प्रस्तुति गर्ने प्रमुख स्वकीय सचिव दुर्गा चापागार्इंले जानकारी दिएका छन् ।



















