वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिवान र अफगानी नेताहरूसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तालिवान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एकजना अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका छन् ।
शनिबार ट्वीट गर्दै उनले अफगानी विद्रोही समूह तालिवानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पको शनिबारको उक्त ट्वीट आश्चर्यजनक मानिएको छ । किनभने राष्ट्रपति स्वयंले अफगानी विद्रोही र अरू नेताहरूलाई राष्ट्रपति निवासको भोजमा निमन्त्रणा दिएका थिए ।
आतंकवादी संगठन अलकायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भीषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो । अमेरिकामा आक्रमणलगत्तै अलकायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिवानी सरकारलाई अपदस्थ गरेको थियो । अलकायदा र तालिवानविरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४ सयभन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।
वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।
झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ । अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालैमात्र तालिबान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिए । तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदहरूले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए ।
ट्रम्पले ट्वीटमा भनेका छन्, ‘मुख्य तालिवान नेताहरू र अफगानिस्तानका राष्ट्रपतिसँग अलग्गै आइतबार क्याम्प डेभिडमा गोप्य भेटघाटको समय मिलाइएको थियो, र यसलाई गोप्य राखिएको थियो । उनीहरू संयुक्तराज्य अमेरिका आजै राति आउँदै थिए । दुर्भाग्यवस, उनीहरूले काबुलमा आक्रमण गरे जसका कारण एकजना बहादुर अमेरिकी सैनिक र अरू ११ जनाको मृत्यु भयो । मैले तत्कालै बैठक रद्द गरेँ र वार्ता प्रक्रिया रोकेको छ ।’ बिहीबार, तालिवानले काबुलको अमेरिकी राजदूतावास नजिकै गरेको कार बम विष्फोटमा एकजना अमेरिकी सैनिक, एकजना रोमानियाली सैनिक र १० जना सर्वसाधारणको ज्यान गएको थियो ।
अमेरिका–तालिवान वार्ता जारी रहेकै अवधिमा पछिल्ला केही दिनदेखि तालिवानले देशव्यापी रूपमा शृंखलाबद्ध बम विष्फोट गराइरहेको छ । अमेरिका–तालिवानबीचको वार्ता समाप्त भएको हो वा स्थगितमात्र भएको हो भन्ने स्पष्ट भइसकेको छैन । राष्ट्रपति ट्रम्पले ट्वीटबाट वार्ता भंग भएको जनाए पनि अमेरिकी विशेषदूत खलिलजादले बिहीबार र शुक्रबार कतारको दोहामा तालिवान समूहका नेताहरूसँग परामर्श गर्ने कार्यक्रम छ ।
अमेरिकी विदेश मन्त्रालय र हृवाइट हाउसले उक्त विषयमा स्पष्ट गरेका छैनन् । यस बारेमा अफगान सरकारले पनि केही बताएको छैन । तालिवानका एक प्रवक्ता जबिहुल्लाह मुजाहिदले क्याम्प डेभिड बैठकका बारेमा ट्रम्पको भनाइबारे आफूलाई स्पष्ट भइनसकेको बताए । उनले अमेरिकी भनाइ बारेमा अहिल्यै प्रतिक्रिया नदिने बताए । उनले भने, ‘यो राजनीतिक मामिला हो । हामी हाम्रा नेताहरूको प्रतिक्रियाको पर्खाइमा छौं ।’



















