काठमाडौं । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्का सदस्यहरूसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । उनले दोस्रो पटक त्यसरी मन्त्रिपरिषद् सदस्यसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार मंगलबार अपराहृन करिब सवा एक बजे प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका थिए । ‘भिडियो कन्फ्रेन्स’ प्रविधिका माध्यमबाट भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो उपचारका बारेमा र मन्त्रिपरिषद् सदस्यहरूले आआफ्नो मन्त्रालयको कामका बारेमा जानकारी दिएको रिमालले बताएका छन् । प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल भइरहेकै समयमा ट्वीटरमा उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत आज दोस्रोचोटि आफ्नो क्याविनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नुभयो । उहाँले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीज्यूहरूले आफ्नो कामबारे प्रधानमन्त्रीलाई अपडेट गर्ने कार्यक्रम छ ।’
छलफलपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किने बताए । ‘प्रधानमन्त्री स्वस्थ र उत्साहित देखिनुहुन्थ्यो । छलफल मात्रै भएको हो, कुनै निर्णय भएन,’ मन्त्री बाँस्कोटाले भने । उनले प्रधानमन्त्रीको प्लाज्मा फेरेसिसको अन्तिम उपचार बुधबार हुने र अर्को एक दिन आराम गरेर शुक्रबार प्रधानमन्त्री स्वदेश फर्किने बताए । भिडियो कन्फ्रेन्स छलफलमा प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग देशको समग्र अवस्थाबारे जानकारी लिएको जनाइएको छ । प्रधानमन्त्रीले संविधान दिवस समारोहको तयारीबारे पनि जानकारी लिँदै आवश्यक निर्देशन दिएका थिए ।
मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्री ओलीले सुर्खेतमा गाई मृत फेला परेको विषयमा चासो राख्दै छानविन गराउन र जोसुकै भए पनि दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन् । एटिएम हृयाक गरेर बैंकहरूको रकम चोरी भएका विषयमा पनि प्रधानमन्त्रीले जानकारी मागेका थिए । यी विषयमा गृहमन्त्री थापाले जानकारी गराएको मन्त्री बास्कोटाले जनाए । यसक्रममा गृहमन्त्रीले प्रहरीले ठूलो सफलता हासिल गरेको बताएको र यसका लागि प्रधानमन्त्रीले धन्यवाद दिएको पनि उनले जानकारी गराए ।
यसअघि पहिलो पटक भदौ ९ गते ‘भिडियो कन्फ्रेन्स’ का माध्यमबाट मन्त्रिपरिषद् बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमा ‘मन्त्रिपरिषद् बैठक’ नै भने पनि बैठकको चर्को आलोचनापछि मन्त्री बाँस्कोटाले संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल मात्र भएको, मन्त्रिपरिषद् बैठक नबसेको भन्दै प्रतिरक्षा गरेका थिए । त्यसरी भएको मन्त्रिपरिषद बैठकको आलोचना भएको थियो ।
महासचिव पुगे ओलीलाई भेट्न
यसैबीच, प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर गएका छन् । सिंगापुर प्रस्थान गर्ने क्रममा पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको बताए । पौडेलले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित सम्पर्कमा रहेको जानकारी दिँदै आफू प्रधानमन्त्रीसँगै फर्किने तय भएको बताए । सोमबार छैटौं चरणको प्लाज्मा फेरेसिस गरेका ओलीको बुधबार सातौं तथा अन्तिम चरणको उपचार सकिने छ । ओली २० गतेपछि स्वदेश फर्किने बताइएको छ । महासचिव पौडेलसँगै प्रस्तावित उपाध्यक्ष बामदेव गौतम पनि सिंगापुर जाने भनिएको थियो । गौतमको भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।




















