सुडान घोटाला प्रकरण : ठेकेदार शम्भु भारती पक्राउ

काठमाडौं । राष्ट्रसंघीय मिसनअन्तर्गत सुडानको डार्फरमा खटिने नेपाल प्रहरीका लागि आवश्यक सामग्री खरिदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला काण्डमा २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार बिहान ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । 

डडेल्धुरा स्थायी घर भएका ४९ वर्षीय भारती भगवती ट्रेडर्सका सञ्चालक हुन् । सर्वोच्चले उनलाई भ्रष्टाचार मुद्दामा एक वर्ष कैद तथा बिगोको आधा अर्थात्, १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ ३ पैसा जरिवाना ठहर गरेको थियो । उक्त सजाय बेरुजु रही फरार रहँदै आएका भारतीलाई उनकै निवासबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका भारतीलाई फैसला कार्यान्वयनका लागि ब्युरोले शुक्रबार जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । उनलाई अदालतले सजाय भुक्तानका लागि कारागार पठाएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले हिमालय टाइम्सलाई बताए । सुरुमा ४० प्रतिशत र सामान डेलिभरी भएपछि ६० प्रतिशत भुक्तानी दिने सर्त उल्लेख भएकोमा सर्तविपरीत ‘एस्योर्ड रिक्स कम्पनी’को नाममा भुक्तानी गराएको, करारमा उल्लेख भएको ‘आइएसओ स्ट्यान्डर्ड’का सामान हुनुपर्ने प्रावधानहरूलाई संशोधन गरी हटाएकोमा भारती दोषी पाइएका थिए । सामानको इन्सपेक्सन गर्ने र युएनको इन्सपेक्सनपछि भुक्तानी दिने कुराको पालना नगरी सामान डेलिभरी तथा इन्सपेक्सन नै नगरी भुक्तानी लिएको, एपिसीमा १२ दशमलव ५ एमएमको हतियार मात्र प्रयोग गर्नुपर्ने मापदण्ड रहेकोमा आपूर्ति भएका १४.५÷७.६२ एमएमको हतियार जडान गर्ने माउण्ट रहेको पाइएको थियो । सञ्चार साधन पनि नजोडिएको र एसी उपकरण पनि नरहेको तथा भारतीले प्रहरी प्रधान कार्यालयबाट ३ करोड १० लाख ३७ हजार ३३० रुपैयाँ ७२ पैसा बुझी लिई सो रकम मूल कम्पनीलाई वैध माध्यमको रूपमा प्रचलित बैंकिङ प्रणालीमार्फत पठाएको नदेखिएको अदालतले ठहर गरेको थियो । भारतीले एपिसी र सोको स्पेयर पार्टस खरिद तथा ढुवानी गर्दा खर्च भएको नेपाल प्रहरी कल्याण कोषको रकम सो सामानहरू कमसल भएको कारण युएनबाट रकम सोधभर्ना हुन नसके पनि आफू र आफ्नो मूलकम्पनीलाई गैरकानुनी लाभ र नेपाल प्रहरीलाई गैरकानुनी हानि नोक्सानी पु¥याउने गरी कार्य गरेको खुल्न आएको थियो । उनले सो कार्यको लागि मतियारको समेत भूमिका निर्वाह गरेको देखिन आएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) र २२ बमोजिमको कसुरमा उक्त जरिवाना गरी त्यति नै बिगो प्रहरी कल्याण कोषले निजबाट भराई लिन पाउने ठह¥याएको विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द ठकुरीलाई समेत दोषी ठहर गरी कैद तथा जरिवानाको सजाय तोकेको थियो ।

लामो छानविनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुल २८ करोड ८१ लाख मागदाबी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०६८ साल जेठ २४ गते दायर मुद्दामा प्रहरीका तीन पूर्वमहानीरिक्षकसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्योर्ड रिस्क कम्पनी र सो कम्पनीका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २८ करोड ४० लाख रुपैया भ्रष्टाचार भएको ठहर गर्दै ठेकेदार, उनका प्रतिनिधि र तीन पूर्वप्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैयाँ असुल्नुपर्ने ठहर गरेको थियो ।