काठमाडौं । चलचित्र ‘प्रेमगीत–३’ को गीत रेकर्डिङ सुरु गरिएको छ । हिट चलचित्र प्रेमगीतको तेस्रो सिक्वेल यो चलचित्रको शीर्ष गीतको रेकर्डिङ रेडियो नेपालको स्टुडियोमा गरिएको छ । चलचित्रको उक्त गीतलाई रेडियो नेपालको सबैभन्दा ठूलो रेकर्डिङ स्टुडियोमा लगभग ८० जना बाद्यबाधक, कलाकारहरुको सहभागितामा रेकर्ड गरिएको हो ।
जसमा केही दृष्टीविहीन कलाकारले पनि स्वर दिएका छन् । चलचित्रका निर्माता सन्तोष सेनका अनुसार रेकर्डिङको सामुहिक आवाजका लागि कलाकारहरु शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेनलगायत कलाकार रेडियो नेपाल पुगेका थिए ।
आकेष्ट्रासहितको बाद्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएका छन् । राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्कीले संगीत संयोजन गरेका हुन् ।
असोजमा छायांकनमा जाने ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्तरूपमा निर्देशन गर्नेछन् । ‘प्रेमगीत–३’ नयाँ वर्षको छेको पारेर चैत २८ गते प्रदर्शनमा आउने तयारीमा छ ।
केही समयअघि चलचित्रका लागि नायिका कृष्टिना गुरुङ अडिसनबाट फाइनल गरिएकी थिइन् । उनी हजारौं प्रतिस्पर्धीका बीच छानिएकी हुन् । यस्तै चलचित्रको वर्कसपको काम चलिरहेको छ ।
चलचित्रका निर्माता सन्तोष सेनका अनुसार चलचित्र सयौं वर्षअघिको कथामा निर्माण हुनेछ । यसकारणले दर्शकमा कौतोहल्ता थपिएको छ । नायक प्रदीप खड्काले पनि चलचित्रको भूमिकामा कपाल पालिरहेका छन् ।




















