दाहाललाई पहिलो पटक कार्यकारी अधिकार

काठमाडौं । दुई अध्यक्षले संयुक्त रूपमा नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पहिलो पटक एक अध्यक्षमा कार्यकारी अधिकार प्रत्यायोजन गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही समय सिंगापुरमै रहनुपर्ने भएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बैठक आहृवान गर्ने र एकता प्रक्रियासँग सम्बन्धित विषयमा आवश्यक निर्णय गर्नेगरी अधिकारी प्रत्यायोजन गरिएको हो ।

संयुक्त नेतृत्वको अवधारणासहित पार्टी एकता भएको १५ महिनापछि नेकपामा पहिलो पटक यस्तो अभ्यास भएको हो । यसअघि दुवै अध्यक्षले संयुक्त रूपमा पार्टी बैठकको अध्यक्षता गर्दै आएका थिए । ओलीका अघिल्ला विदेश भ्रमणमा दाहाललाई यस्तो अधिकार दिइएको थिएन ।

बिहीबार बसेको सचिवालय बैठकले अध्यक्ष दाहाललाई पार्टीको कार्यकारी भूमिका दिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीको अनुपस्थितिमा पनि दाहालले पार्टीको बैठक डाक्न पाउने छन् । प्रधानमन्त्री ओली लामो समय देशबाहिर बस्ने भएपछि पार्टीका कामहरू निरन्तर सञ्चालन गर्न उक्त निर्णय गरिएको बताइन्छ । सांगठनिक एकताका बाँकी काम र अन्य आवश्यक निर्णय गर्न दाहाललाई अधिकार दिइएको हो ।

बैठकमा सांगठनिक एकताबारे छलफल भए पनि ठोस निर्णय भएन । अध्यक्ष दाहालले छिटै सचिवालय बैठक बोलाएर यसबारे निर्णय गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ । नेकपाको प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिट्ब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा छलफल गरी निर्णयमा पुगिने उनले बताए ।

फरक मतबारे छलफल भएन

सचिवालय बैठकमा माधवकुमार नेपालको फरक मतबारे भने छलफल भएन । सचिवालय सदस्य वामदेव गौतमका अनुसार फरक मतको विषय बैठकमा प्रवेश नै भएन । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्दै अर्का अध्यक्ष दाहाललाई बैठक आहृवान गर्ने र आवश्यक निर्णय गर्नेगरी अधिकार प्रत्यायोजन गरेर बैठक टुंगिएको उनले बताए ।

भदौ १ गते बसेको सचिवालय बैठकमा नेता नेपालले सचिवालयमा तीन सदस्य थप्न प्रस्ताव गरेका थिए । उनले पार्टीमा ‘एक व्यक्ति एक पद’ हुनुपर्ने मागसहित फरक मत लिखित रूपमै राखेका छन् ।