काबुल बम विस्फोटमा ६३ जना मारिए

काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम विस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् । हालैका महिनामा अफगानिस्तानमा भएका शृंखलाबद्ध विस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणमा विस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरू १ सय ८२ जना घाइते भएको उल्लेख छ ।

उक्त विस्फोट राजधानी काबुलको पश्चिमतर्फ शिया बहुल क्षेत्रमा भएको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिवानले भने उक्त आक्रमणमा संलग्न नरहेको जनाएको छ । अमेरिका र तालिवान समूहबीच अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या कटौती गर्ने समेतको व्यापक सम्झौतामा सहमति नजिक पुगेकै समयमा काबुलमा यो भयानक आक्रमण भएको हो । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले आक्रमणबाट कम्तीमा ६३ जनाको मृत्यु भएको र १ सय ८२ जना घाइते भएको पुष्टि गरे । राहिमीले घाइतेमा अधिकांश महिला र बालबालिका रहेको पनि जानकारी दिए । अफगान समाजमा वैवाहिक कार्यक्रम भव्यरूपमा हुने गर्दछ । वरवधुको क्षमताबमोजिम सयौं र कहिलेकाहीँ हजारौं मानिस विवाह समारोहमा सहभागी हुने प्रचलन छ । विवाहमा सामान्यतया पुरुष र महिला अलगअलग ठाउँमा बसेर घण्टौं नाचगान र खानपिनमा बिताउँछन् । शनिबार रातिको यस आक्रमणमा भएको क्षति निकै कहालीलाग्दो थियो । समारोहस्थल रगतमा लतपतिएको, मानिसका क्षतविक्षत भएका शरीरका अंगहरू, च्यातिएका लत्ताकपडा, टोपी, चप्पल र खानेपानीका बोटल यत्रतत्र छरिएका थिए । 

यो वैवाहिक समारोह अफगानिस्तानका अल्पसंख्यक शिया समुदायको थियो । शिया समुदायमाथि सुन्नी बहुल अफगानिस्तानमा आक्रमण भइरहने गर्दछ, खासगरी इस्लामिक स्टेट समूहले शिया समुदायमाथि निर्मम आक्रमण गरेको देखिन्छ । काबुलमा पनि निकै सक्रिय इस्लामिक स्टेटले यस घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । विवाह समारोहमा सहभागी मोहम्मद फरहागले आफू बम विस्फोट हुँदा महिलाहरू रहेको हलतर्फ भएकाले बाँचेको बताए । फरहागले एएफपीसँगको कुराकानीमा पुरुष रहेको हलतर्फ विस्फोट भएको र मानिस चिच्याउँदै, रुँदै बाहिर हलबाहिर निस्केको बताइन् । ‘घटना भएको झण्डै २० मिनेटसम्म पूरै हल धुवाँले भरिएको थियो, पुरुष बसेका हलभित्रका सबैजसो मारिएका वा घाइते भएका थिए,’ फरहागले भने । विस्फोटको दुई घण्टापछि हलबाट शव निकाल्न थालिएको थियो । 

विद्रोही समूहले अफगान वैवाहिक समारोहमा आक्रमण गर्नेक्रम विगतदेखि नै हुँदै आएको छ । वैवाहिक समारोहमा सुरक्षाको खासै प्रबन्ध नगरिने भएकाले पनि विद्रोही समूहलाई आक्रमण गर्न सहज हुने गरेको छ । गत जुलाई १२ मा पूर्वी नान्गरहार प्रान्तमा भएको एक वैवाहिक समारोहमा आक्रमण गर्दा कमत्ीमा ६ जना मारिएका थिए । उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।