यही भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जाइरा’को टिम अहिले मोफसल यात्रामा निस्किएको छ । चलचित्र टिम शुक्रबार पोखरामा प्रमोशन गर्न पुगेको थियो । बिभिन्न कार्यक्रमको शैलीमा चलचित्र टिमले पोखराका विभिन्न ठाउँमा चलचित्रको प्रचार गरिएको थियो ।
प्रचार यात्रामा चलचित्रकी मुख्यपात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरि, कलाकारहरू सुजिता श्रेष्ठ र सम्राट मगरलगायत रहेका छन् । चलचित्रका कलाकारहरूको उपस्थितिमा लेकसाइडमा रहेको डुंगा रेष्ट्रोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा पोखरामा स्थायी बसोबास गर्ने कलाकार सम्राट मगरलाई सञ्चारकर्मीमाझ परिचित गराइएको थियो । ‘फिटनेस ट्रेनर’ सम्राटले यसै चलचित्रबाट चलचित्रमा डेब्यु गरेका हुन् ।
चलचित्रमा उनी जाइरा अर्थात् नम्रता श्रेष्ठको कोचको भूमिकामा छन् । ‘तपाईंले आफंैले लगानि गरेर जोखिम मानिने महिला प्रधान एक्शन चलचित्र बनाउने हिम्मत कसरी गर्नुभयो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा नायिका नम्रता श्रेष्ठले अरूले हिम्मत नगरेकाले आफूले एक्शन चलचित्र बनाउन हिम्मत गरेको बताइन् । ‘जाइरा’की निर्मातासमेत रहेकी श्रेष्ठले आफूले यस प्रकारको भूमिकामा अभिनय गर्न सक्दिनँ भन्ने भ्रमलाई चिर्दै अभिनय गरेको बताइन् ।
पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरिको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते चलचित्र हेरेपछि उक्त राज खुल्ने बताए । त्यस्तै, पोखरामै ‘टम्बल विड’ ब्याण्डले ‘जाइरा’को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’को प्रस्तुति दिएको छ ।
लेकसाइडको रोलिङ स्टोन रक बारमा विशेष प्रस्तुति दिँदै ब्याण्डले चलचित्रको ओएसटी प्रस्तुत गरेको हो । उक्त ओएसटी इन्टरनेटमा भने केही दिनमा सार्वजनिक गरिने बताइएको छ । चलचित्रको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोही प्रस्तुतिका लागि पोखरा पुगेको थियो ।
लेकसाइडमा नै रहेको अल्टिच्युड लञ्जमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगरलगाएत कलाकारको अभिनय छ ।




















