बेलायतमा खिचिँदै कैदीको पत्र

साहित्यकार स्व. ईश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा चलचित्र निर्माण हुने भएको छ । साहित्यकार सनमकुमार बैरागले स्व. मानन्धरको उक्र कथामा आधारित चलचित्र २६ जुलाईबाट बेलायतका विभिन्न स्थानमा सुटिङ गरिरहेका छन् । ‘कैदीको पत्र’को निर्देशन बैराग आफंैले गरेका छन् । त्यस्तै चलचित्रको पटकथा, सम्वाद र गीत पनि बैराग स्वयंले लेखेका हुन् । 

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटिस युवतीसँगको प्रेम र त्यसबाट सिर्जना भएको विषम परिस्थितिको विषयमा रहेको चलचित्रको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदूत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भई आफूहरूको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् । 

‘महामहिमज्यूले कथाकार ईश्वर मान्नधरको कृतिलाई मूर्हरूप दिन आफू सुटिङमा उपस्थित भएको बताउनुभयो,’ निर्देशक बैरागले भने, ‘उहाँ मेरो जिगिषा र भीमसेन थापा नाटकबाट प्रभावित हुनुहुन्थ्यो । त्यसकारण हौसला बढाउन सहभागी हुनुभएको हो । उहाँको साथले खुशी मिलेको छ ।’ 

चलचित्रमा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापामगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् । रामेश्वर कार्कीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुरेश सेञ्चुरी र बिनम्र कर्माचार्यको संगीत छ । 

मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन् । कलिना–रुविन श्रेष्ठ, हीराल आमिन जोशी र दिलघले निर्माता रहेको चलचित्रको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् । 

चलचित्र सुटिङका लागि केही साताअघि प्राविधिकको एक काठमाडांैबाट टोली बेलायत उडेको थियो । हालसम्म स्कटल्याण्डको क्रिफ, आवर फेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’को छायांकन सकिन अझै दुई साताबढी समय लाग्ने बताइएको छ ।