निगमको समस्या समाधानका लागि कार्यदल गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले नेपाल वायुसेवा निगमको समस्या पहिचान गरी समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । मन्त्रालयले बुधबार पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा लेखा विज्ञ प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधिर समशेर राई छन् भने सदस्यसचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने तथा वर्तमान वित्तीय अवस्थाको अध्ययन गरी एक महिनाभित्रै प्रतिवेदन पेस गर्ने मन्त्रालयले जनाएको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त विमानस्थलको डिपिआर निर्माण गरी २०१९ भित्रै शिलान्यास गर्ने प्रतिबद्धतासमेत जनाए । निजगढ विमानस्थल निर्माणका लागि केन्द्रीयस्तरका शीर्ष नेता, प्रदेश सरकार, स्थानीय सरकार लगायतसँग छलफल गरी निर्माणको मोडलबारे टुंगोमा पुग्ने उनको भनाइ थियो । विमानस्थलको लागत भने मन्त्रालयले लगानी बोर्डसँग छलफल गरी टुंग्याउने बताए ।

विमानस्थल निर्माणका लागि प्रमुख समस्याका रूपमा रहेको टाँगिया बस्तीका बारेमा दुईवटा मोडालिटिमा समाधानको पहल भइरहेको उनले बताए । पहिलो, प्रतिपरिवारलाई पैसा दिने र उनीहरू आफंैले घरबास खोजेर बस्नुपर्ने र दोस्रो विकल्पमा स्थानीय तहसँग समन्वय गरेर बस्ती नै स्थानान्तरण गर्ने योजना तयार पारिएको उनको भनाइ छ । त्यसका लागि तत्कालै प्रदेश २ का मुख्यमन्त्रीसहित राजनीतिक दलसँग बसेर सर्वदलीय सहमतिमा अगाडि बढ्ने पनि उनले बताए ।

विमानस्थल क्षेत्रमा पर्ने रूख कटानका विषयमा समेत हालसम्म कुनै आधिकारिक तथ्यांक नआएको भन्दै मन्त्री भट्टराईले बजार हल्लाभन्दा कम रूख कटान गरी विमानस्थल निर्माण गरिने बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७३ प्रतिशत सम्पन्न भएकोले आगामी डिसेम्बर अन्त्यसम्म सञ्चालनमा ल्याउने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि तोकिएको समयभन्दा अगाडि नै सञ्चालनमा ल्याउने दाबीसमेत उनले गरे ।