क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा एक यात्रुसँग व्यक्तिगत QR कोड प्रयोग गरी अवैध रूपमा आरएम १०० असुलेको आरोपमा एक इमिग्रेसन अधिकारीमाथि अनुसन्धान सुरु गरिएको छ।
सामाजिक सञ्जालमा उक्त घटनासम्बन्धी विवरण भाइरल भएपछि मलेसिया चेकपोइन्ट्स एन्ड बोर्डर एजेन्सी (MCBA) को इन्टिग्रिटी डिभिजनले घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको हो।
एजेन्सीले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै अनुसन्धानबाट दोषी ठहरिने कर्मचारीमाथि नियमअनुसार कडा कारबाही गरिने प्रतिबद्धता जनाएको छ। साथै, विमानस्थल तथा सीमा नाकामा हुने भ्रष्टाचार, अधिकारको दुरुपयोग र अन्य गैरकानुनी गतिविधिप्रति ‘शून्य सहनशीलता’ अपनाइने स्पष्ट पारेको छ।
हालै सीमा सुरक्षा र अध्यागमन व्यवस्थापनलाई थप प्रभावकारी तथा पारदर्शी बनाउने उद्देश्यले गठन गरिएको MCBA अन्तर्गत कार्यरत अधिकारी नै यस्तो आरोपमा मुछिएपछि उक्त निकायको कार्यप्रणालीमाथि समेत प्रश्न उठेको छ।
अनुसन्धान पूरा नभएसम्म सम्बन्धित अधिकारीलाई निगरानीमा राखिएको बताइएको छ। सीमा क्षेत्रको सुरक्षा, पारदर्शिता र यात्रुहरूको विश्वास कायम गर्ने उद्देश्यले स्थापना गरिएको नयाँ संयन्त्रमाथि यस घटनाले थप चुनौती खडा गरेको छ। घटनाको विस्तृत सत्यतथ्य भने आधिकारिक अनुसन्धान पूरा भएपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।




















