मालपोत अधिकृतसहित ६ जना पक्राउ

काठमाडौं । सरकारी जग्गा व्यक्तिलाई दिलाउने तत्कालीन मालपोत अधिकृतसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मालपोत कार्यालय बाँकेका तत्कालीन मालपोत अधिकृतहरू दीर्घबहादुर पोखरेल र हेमराज शर्मासहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार मालपोत कार्यालय बर्दियाका तत्कालीन अधिकृत कृष्णप्रसाद ज्ञवाली, सोही कार्यालयका नासु रवीन्द्रबहादुर थापा, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय र खरिदार किशोरकुमार रिजाल पनि पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसअघि बर्दियाको भुरीगाउँको १४ बिघा र बाँकेका दुई ठाउँको गरी ११ कठ्ठाभन्दा बढी सरकारी जग्गा सरकारी कागजात किर्ते गरेर व्यक्तिको नाममा ल्याएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही घटनामा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा दायर भएको मुद्दामा बयान दिन आएका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरूलाई सोमबार काठमाडौंबाट पक्राउ गरको हो ।

योसँगै उनीहरूलाई अख्तियारले भ्रष्टाचार मुद्दा र प्रहरीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गर्ने भएका छन् ।

कैलाली मालपोतका दुईजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीको टीकापुर नगरपालिकामा रहेको मालपोत कार्यालयका दुईजना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । 

आयोगको टोलीले सेवाग्राहीबाट घुसको रकम लिँदै गरेका बेला मालपोत कार्यालयका नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेयलाई पक्राउ गरेको हो । स्टिङ अप्रेसन गरी दुवैजनालाई घुसको आठ हजार नगदसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले बताए । 

आव २०७५÷०७६ को असार मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले कैलाली कञ्चनपुरमा सातवटा स्टिङ अप्रेसन गरी ३१ जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।