पहिरोले तीन जनाको मृत्यु

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा आइतबार राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनै जनाको शव फेला परेको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीले जानकारी दिए । पहिरोमा परी सातजना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ । १५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ । 

ठूलीभेरीले तीन घर बगायो 

यसैबीच रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो । स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ । 

त्यस्तै, अन्य आठ घर ठूलीभेरी नदीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । जोखिममा परेका घर एक हप्ताअगाडि नै प्रहरी र स्थानीयको सक्रियतामा खाली गरिएका कारण अन्य क्षति भने हुन नपाएको उनको भनाइ छ । 

जोखिममा रहेका आठ घर पनि खाली गरिएको छ । घर बगेका तथा घर जोखिममा परेका स्थानीय अन्यत्र शरण लिएर बसिरहेको उनले बताए । लगातारको वर्षाका कारण नदीको प्रवाह बढेकाले नदीले कटान शुरु गरेको स्थानीयको भनाइ छ ।