काठमाडौं । काठमाडौं उपत्यकामा घरबाहिर निस्किँदा मुख ढाक्न माक्स प्रयोग नगर्ने कमै भेटिन्छन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विरोध गर्नेले मात्र माक्स लगाएको भन्ने कुरा सार्वजनिक गरेपछि त्यसको ठूलो विरोधसमेत भएको थियो ।
काठमाडौं उपत्यकामा भने दिनप्रतिदिन वायु प्रदूषण बढ्दै गएको वातावरणविद्हरू बताउँछन् । तीन वर्षअघि वातावरण विभाग, काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयको पहलमा निकै तामझामका साथ वायु प्रदूषण मापन केन्द्र स्थापना गरिएको थियो । सुरुवाती चरणमा रत्नपार्क, पुल्चोक, धुलिखेललगायत उपत्यका बाहिरका अन्य दुई स्थानमा समेत गरेर विभिन्न पाँच स्थानमा राखेर वायु प्रदूषण मापन केन्द्र राखिएको थियो । केही समयपछि अन्य स्थानमा पनि वायु प्रदूषण मापन केन्द्र स्थापनासमेत भएको थियो ।
यसअघि वायु प्रदूषणको आधिकारिक तथ्यांक प्राप्त गर्ने कुनै पनि निकाय नभएकोले यो यन्त्र ल्याइएको थियो । सम्बन्धित निकायहरूले त्यसको नियमित हेरचाह र मर्मत गर्न नसक्दा धेरै स्थानमा अहिले वायु प्रदूषण मापनयन्त्रले काम गर्न छोडेका छन् । यन्त्रले काम गर्न छोडेपछि प्रदूषणको अवस्था पत्ता लाग्न सकेको छैन । जसले गर्दा प्रदूषणको विषयमा सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म अनुमान मात्र गरिरहेका छन् । काठमाडौंको वायु प्रदूषण घटेको सरकारले दाबी गरिरहेका बेला वायु प्रदूषण मापन गर्न राखिएका आधाभन्दा बढी मेशिन बिग्रिएको अवस्थामा छन् ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलका अनुसार रुपन्देहीको लुम्बिनी, ललितपुरको भैंसेपाटी, सुनसरीको झुम्का, काभ्रेको धुलिखेल, पोखराको जिबिएस र सिमरामा राखिएका मेसिनहरू लामो समयदेखि बिग्रिएर बसेका छन् । मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि सरोकारवाला निकायले ध्यान दिन नसकेको पौडेल बताउँछन् ।
वायु प्रदूषण मापन गर्न देशभर १७ वटा वायु प्रदूषण गुणस्तर नाप्ने उपकरण जडान गरिएको भए पनि हालै ११ वटाले मात्र काम गरिरहेका छन् । वातावरण विभागले सार्वजनिक गरेको २०१८ को विश्लेषणात्मक प्रतिवेदनमा लुम्बिनीमा प्रदूषण उच्च छ । तर, त्यस क्षेत्रमा बिग्रिएको मेसिनको मर्मत भने हुन सकेको छैन । विभागका प्रवक्ता पौडेल भन्छन्, ‘लुम्बिनीमा रहेको वायु प्रदूषण मापन उपकरण विभागको मातहतका पर्दैन, बाँकी सबै हाम्रो विभागकै मातहतमा रहेका छन् ।’




















